विराटनगर । मोरङको पथरीशनिश्चरेमा आइतबार बिहान दुर्घटना हुँदा अटो टेम्पोका चालकको मृत्यु भएको छ ।
पूर्वतर्फ जाँदै गरेको ना ६ ख १३७२ नम्बरको ट्रकले पश्चिमतर्फ आउँदै गरेको को २ अ २२९३ नम्बरको अटोलाई बिहान ९ः३० बजेतिर पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ मा ठक्कर दिएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा परेर अटोका चालक पथरीशनिश्चरे–२ का अन्दाजी ५५ वर्षीय भीमशरण तामाङको मृत्यु भएको छ ।
ट्रकले अटोलाई ठक्कर दिएपछि गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगियो ।
अस्पताल पु¥याउनसाथ चिकित्सकले मृत घोषित गरेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले बताए ।
उनका अनुसार दुर्घटना गराउने ट्रक र चालक झापाको बिर्तामोड नगरपालिका–४ का ४६ वर्षीय नेत्रप्रसाद मैनालीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ ।
Discussion about this post