काठमाडौं । सिंगापुरमाथि जित हात पार्दै नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमै समेटियो । सिंगापुरले आक्रामक सुरुआत गरे पनि नेपाली स्पिनरले उनीहरुलाई अंकुश लगाएका थिए ।
सिंगापुरका ओपनर रोशन रविचन्द्रनले सर्वाधिक २४ रन बनाए । कविर बेरिलाले ११ रन बनाए । प्रणव धानुका १४ रनमा अविजित रहे । नेपालबाट कृतिक कामतले ३ विकेट लिए । कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेन भट्टले १–१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । सूर्यांशु कोइराला र निरज यादवले १२ ओभरभित्र ६३ रन जोडेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सूर्यांशु्ले ४९ बल खेल्दै ६ चौका प्रहार गरी सर्वाधिक ४३ रन बनाए । निरजले ४२ रन जोड्नेक्रममा ४९ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गरे ।
त्यसपछिका ब्याटर आशिष लुहार ६, नरेन ३, प्रतिक १२ रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो । सन्तोष यादवले २४ बल खेल्दै २ चौकासहित १८ रन बनाए । कप्तान अभिषेक तिवारी र दीप भुजेलले आठौं विकेटमा ३९ रनको महत्त्वपूर्ण साझेदारी गरे ।
अभिषेकले २५ रन बनाए । दीपले १५ बलको सामना गर्दै १२ रनका साथ अविजित रहे । यस्तै कृतिक कामत अन्तिम ओभरमा १० रन बनाएर अविजित रहे । सिंगापुरबाट हरिहरनले ३ विकेट लिए । हर्ष वेंकटर्म र कविर बेरिलाले २–२ विकेट लिए ।
अब नेपालले उपाधिका लागि मंगलबार (भोलि) आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा घरेलु टोली मलेसियाले हङकङलाई ७८ रनले पराजित गरेको थियो ।
Discussion about this post