विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका–३ मा सोमबार बिहान श्रीमानको खुकुरी प्रहारबाट श्रीमती गम्भीर घाइते भएकी छन् ।
भारतको आसाम घर भएका ३७ वर्षीय भवेन्द्र डेकाले श्रीमती २५ वर्षीया रेखा भगतलाई खुकुरीले प्रहार गरेका हुन् ।
घटना बूढीगंगा–३ स्थित दुर्गाचन्द्र राइस मिलअगाडि बिहान ६ः३५ बजेतिर भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
भारत घर भएका भवेन्द्रको ससुराली सुनसरीको दुहवी नगरपालिका–७ भलुवा हो । प्रहरीका अनुसार उनी श्रीमतीसँगै केही समयदेखि ससुरालीमा बस्दै आएका थिए ।
गम्भीर घाइते भएकी रेखालाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
खुकुरीले काटेर दाहिने नाडी र दुईवटा औंला छिन्न लागेको अवस्थामा उद्धार गरेर रेखालाई उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
भवेन्द्रलाई इलाका प्रहरी कार्यालय नेमुवाले पक्राउ गरेको छ । घटनामा प्रयोग भएको खुकुरी पनि बरामद भएको प्रहरीले जनाएको छ ।
सामान्य पारिवारिक विवादका कारण घटना भएको जनाइएको छ । घटनाको विस्तृत अनुसन्धानपछि वास्तविकता पत्ता लाग्ने जानकारी डीएसपी दाहालले दिए ।
Discussion about this post