काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको बताएका छन् ।
कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले कोइरालालाई राष्ट्रपतिमा प्रस्ताव नगर्दा पहिलाको जस्तो भरोसा र विश्वास नगर्ने पो हो कि भन्ने लागे पनि कोइरालाले त्यस्तो नगरेको पनि बताए ।
प्रधानमन्त्री दाहालले भने, ‘गणतन्त्र घोषणा भएपछि म पहिलो प्रधानमन्त्री हुँदा उहाँलाई राष्ट्रपतिको प्रस्ताव गर्नुपर्थ्यो । मैले गर्न सकिनँ । मलाई पश्चात्ताप छ, मैले प्रस्ताव नगरेपछि पहिलाको जस्तो विश्वास गर्नुहुन्न भन्ने लागेको थियो । तर, उहाँले मेरो नेतृत्व देशको लागि आवश्यक छ भनिराख्नुभयो ।’
प्रधानमन्त्री दाहालले कोइरालाको राजनीतिक सुझबुझ र दूरदृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको दाबी गरे ।
उनले गणतन्त्रको छोटो समयमा प्रश्न उठाउन खोजिएको भन्दै हिजोकै केन्द्रिकृत राजतन्त्र ठिक हो कि भनेर प्रश्न उठाउने जमर्को भइरहेको उल्लेख गरे ।
Discussion about this post