विराटनगर । विराटनगरमा सुधार केन्द्रका सञ्चालकलाई भेट्न पुगेका एक जना युवाको बिहीबार राति मृत्यु भएको छ ।
सुधार केन्द्रमै बेहोस अवस्थामा भेटिएका विराटनगर महानगरपालिका–११ का अन्दाजी ३५ वर्षीय विकी भनिने अभिषेक थापाको उपचारका लागि अस्पताल पुर्याउनसाथ मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी दिउँसो ३ः३० बजेतिर विराटनगर–४ स्थित नवज्योति सुधार केन्द्रका सञ्चालक सुशील रिजाललाई भेट्न गएका थिए । थापा र रिजाल चिनजानका साथी रहेको प्रहरीले जनाएको छ ।
भेटघाट भएपछि दुवै जनाले दही चिउरा खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । उनका अनुसार दही चिउरा खाएर सुधार केन्द्रमै सुतेका थापा रातिसम्म उठेनन् । बेहोस अवस्थामा भेटिएपछि राति ९ः१० बजेतिर लाइफ गार्ड अस्पताल पुर्याइएको थियो ।
डीएसपी दाहालका अनुसार अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको पाइएको छ । प्रहरीले घटनाका बारेमा राति १०ः३० बजेतिर मात्रै जानकारी पाएको हो । दाहालले शवलाई पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर विभिन्न कोणबाट घटनाको अनुसन्धान थालिएको जानकारी दिए ।
Discussion about this post