विराटनगर । कोशी राजमार्गको इटहरी–धरान खण्डमा पर्ने जंगल क्षेत्रमा गोली प्रहार गरी हत्या गरिएका विराटनगरका रोहित चौधरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानको प्रारम्भिक रिपोर्ट अनुसार चौधरीको हत्या धनमाल लुट्ने उद्देश्यले भएको पाइएको छ ।
२८ वर्षीय चौधरीकिो शुक्रबार गोली हानी हत्या भएको थियो । घटनामा एक समूह संलग्न थियो । प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।
धनकुटाको मूलघाट पुगेर फर्कंदै गर्दा सेउती पुलनजिकै तीन जनाको समूहले लुट्न खोजेको पाइएको प्रहरीको भनाइ छ ।
त्यस क्रममा चौधरीले प्रतिकार गरेका थिए । प्रतिकार गरेपपछि समूहमा रहेका व्यक्तिहरुले उनीमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका डीएसपी राजकुमार राईको भनाइ छ ।
गोली लागि गम्भीर घाइते भएका चौधरीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको थियो ।
उनीसँगै रहेकी एक युवती घटनामा सामान्य घाइते भएकी थिइन् ।
Discussion about this post