काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताएका छन्।
विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको उनले बताए।
आइतबार काठमाडौँमा आयोजित मौद्रिक नीतिपछिको छलफलसम्बन्धी एक कार्यक्रममा गभर्नर अधिकारीले लचिलो आर्थिक नीति लिनुका पछाडि तर्कसङ्गत आधार रहेको पनि स्पष्ट पारे।
‘सात प्रतिशतको नीतिगत दरलाई साढे ६ प्रतिशत बनाइएको छ। यस्तो लचिलो नीति लिनुका पछाडि केही आधार छन्। अहिले बाह्य क्षेत्रमा सहज भएको छ। वर्षान्तमा तरलता पनि सहज देखिपछि राष्ट्र बैंकले नीतिगत दर घटाएको हो,’ गभर्नर अधिकारीले भने, ‘घरजग्गा क्षेत्रमा गिरेको मनोबललाई उकास्न पनि मौद्रिक नीतिले केही व्यवस्था गरेकोछ।’
त्यस्तै, चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत राखिएको बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ११ दशमलव पाँच प्रतिशत, ६ प्रतिशतको आर्थिक वृद्धिदर र साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्नेगरी तय भएको मूल्यवृद्धिको लक्ष्य प्राप्त गर्नेगरी मौद्रिक नीति आएको उनको भनाइ थियो। चालु आर्थिक वर्षका लागि रू पाँच खर्ब ६२ अर्ब बराबरको कर्जा प्रवाह हुने लक्ष्य राखिएको र यो महत्वाकाङ्क्षी नभई मौद्रिक सूचकहरुको विश्लेषणबाट तय गरिएको गभर्नर अधिकारीले बताए।
Discussion about this post