विराटनगर । बालबालिकामा आँखा पाक्ने समस्या देखिएको छ । कोशी प्रदेशका विभिन्न सहरहरुमा यो समस्याले प्रकोपकै रुप लिइरहेको छ ।
विराटनगर, इटहरी, इनरुवा, बिर्तामोड, दमकलगायत क्षेत्रमा आँखा पाक्ने समस्या देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले बढी मात्रामा बालबालिका प्रभावित बनेको जनाएको छ ।
चिकित्सकका अनुसार सरुवा रोग भएकाले आँखाको संक्रमण अरुमा चाँडो सर्छ । विद्यालय जाने बालबालिकादेखि उपचारका लागि अस्पताल पुग्नेहरुबाट समुदायस्तरमै संक्रमण फैलिइरहेको छ ।
प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी विद्यालयहरुमा विद्यार्थीको आँखा पाक्ने समस्या प्रकोपजस्तै देखिएको बताउँछन् । एउटा विद्यालयमा दैनिक १५ जनाभन्दा बढी विद्यार्थी आँखा पाक्ने समस्या लिएर आउने गरेको उनले बताए ।
नेत्ररोग विशेषज्ञहरु पछिल्लो समय ‘एडिनो’ भाइरसका कारण निम्तिएको आँखा पाक्ने समस्या भाइरलका रूपमा फैलिरहेको बताउँछन् । मनसुनमा भाइरस सक्रिय भएर आँखामा हुने संक्रमणको गति तीव्र बन्दा आँखा पाक्ने बिरामी बढिरहेको उनीहरुको भनाइ छ ।
मौसममा भइरहेको फेरबदल, धुलो, धुवाँ, आँखाको सुरक्षामा हेरचेक्र्याइँ, असावधानी आदि कारणबाट आँखा पाक्ने रोगले प्रकोपकै रूप लिएको चिकित्सक बताउँछन् ।
संक्रमण भएका बालकालिकामा आँखा रातो हुने, कचेरा आउने, आँखा टालिने, सुन्निने, अत्यधिक दुख्ने, पोल्ने, हेर्न गाह्रो पर्ने, निरन्तर आँसु बग्नेलगायतका समस्या देखिएको छ ।
बालबालिकाबाट अभिभावकमा पनि संक्रमण सरिरहेको चिकित्सक बताउँछन् । उनीहरुका अनुसार अँग्रेजीमा यो संक्रमणलाई ‘कन्जक्टिवाइटिस’ भनिन्छ । आँखाको संक्रमण भीडभाडका कारण एकबाट अर्कोमा चाँडो सर्ने विराटनगर आँखा अस्पतालका प्रवन्धक कुमार पृथुले बताए । संक्रमण हुन नदिन र आँखाको सुरक्षामा सबैले ध्यान दिनुपर्ने उनले बताए ।
पृथुका अनुसार आँखा पाक्ने समस्या लिएर अस्पतालमा मात्रै दैनिक दुई सयभन्दा बढी आउन थालेका छन् । तीमध्ये दुई सयभन्दा बढीमा आँखा पाक्ने समस्या देखिएको जनाइएको छ ।
वरिष्ठ नेत्ररोग विशेष डा. प्रज्ञ लुइँटेल संक्रमण भएको आँखालाई परबाट हेर्दा मात्रै यो रोग नसर्ने बताउँछन् । संक्रमितसँगको सम्पर्क, एउटै कपडालगायतका वस्तुको प्रयोग, स्वीमिङ पुल आदिबाट चाँडो सर्ने उनले बताए । आँखा पाकेमा तत्काल चिकित्सकको सम्पर्कमा गएर औषधि प्रयोग गर्नुपर्ने डा. लुइँटेलको भनाइ छ । पाकेको आँखा निको हुन एकदेखि दुई हप्तासम्म लाग्ने जानकारी दिए ।
उनका अनुसार आँखा पाक्दा सित्तल बनाउन ‘आइड्रप’, औषधि तथा चश्माको प्रयोग, चिसोले सेक्ने, नमाड्ने, चिसो पानीले नियमित सरसफाई गर्ने, धुलो र धुवाँबाट बच्ने, पर्याप्त पानी पिउने, आँखालाई आराम दिने आदिमा ध्यान दिनुपर्छ ।
विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हैदर अली आँखा पाक्ने समस्याले प्रकोपको रूप लिइरहेको बताउँछन् । ‘यसलाई नियन्त्रण गर्न र थप फैलन नदिन विद्यालय केन्द्रित चेतनामूलक कार्यक्रमहरु भइरहेका छन् ।
Discussion about this post