झापा । कनकाई माईमा दाहसंस्कार गर्न लागिएको अबस्थामा एक महिलाको शब प्रहरीले सोमबार चिताबाटै उठाएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरीको टोलीले चितामा राखेर दागवत्ती दिन ठिक्क पारेको अबस्थामा महिलाको शब चिताबाटै उठाएको हो ।
कनकाई नगरपालिका–३ निवासी ३२ वर्षीया पूजा कोचकारको आज दिउँसो मृत्यु भएपछि परिवारले अन्त्येष्टिका लागि कनकाई माईमा शब पुरयाइएको थियो । तर, प्रहरीले घाटबाटै शब उठाएर पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार स्थानीयको मौखिक उजुरीका आधारमा शब नियन्त्रणमा लिँदै पोष्टमार्टमका लागि अस्पताल पठाइएको हो ।
कनकाई नगरपालिका ३ निवासी ५० वर्षीय चोपेन्द्र कोचकारका दुईजना श्रीमती रहेको र मृतक पूजा उनकी कान्छी श्रीमती भएको बताइएको छ । प्रायजसो घरमा झैझगडा भइरहने र जेठी श्रीमती तथा उनका श्रीमानको काटाइबाट उनको मृत्यु भएको हुनसक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेको बताइएको छ ।
स्थानीयको मौखिक उजुरीका आधारमा पूजाको शब परीक्षणका लागि लगिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पूजाको बिर्तामोडस्थित कञ्चनजंघा अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।
घटनाका विषयमा अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
Discussion about this post