विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको हितमा काम गर्न संघर्ष समिति गठन गरिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका राजनैतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उपभोक्ता अधिकारकर्मीसमेतको सर्वपक्षीय भेलाले समिति गठन गरेको हो ।
भेलाले कोशी अस्पताल विकास समितिका पूर्वसदस्य मुकेश बुढाथोकीको संयोजकत्वमा १६ सदस्यीय संघर्ष समिति गठन गरेको छ । अस्पताल संरक्षणका लागि समितिले संघर्षका कार्यक्रम अघि बढाउने भएको छ ।
पहिलो चरणमा ज्ञापनपत्र बुझाएर प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, कोसी प्रदेशका मुख्यमन्त्री, विराटनगर महानगरपालिका मेयर, मोरङका प्रमुख जिल्ला अधिकारी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलगायतको ध्यानआकर्षण गराइने भएको छ ।
सरकारी अस्पतालको स्वामित्वमा रहेको लगभग १५ कट्ठा बढी जग्गा गैरकानुनी हिसाबले लामो समयदेखि कब्जा गरेर वर्षौदेखि अरुले नै रजाइँ गरिरहेका छन् । विभिन्न संघ संस्थाले जग्गा कब्जा गरेर व्यापारिक भवन एवं संरचना बनाउँदै आफू प्रयोग गरेर अरुलाई पनि भाडामा लगाएका हुन् । भाडावापत लाखौं रकम असुल्ने गरिएको छ ।
अस्पताललाई भने एमआरआई, एनआईसीयूजस्ता अतिआवश्यकीय सेवासहित चमेनागृह सञ्चालन एवं विभिन्न सेवा विस्तारका लागि भवन निर्माण गर्न र एम्बुलेन्स, अस्पताल, कर्मचारी तथा सेवाग्राहीका सवारीसाधनको पार्किङस्थल व्यवस्थापनमा जग्गा अभाव भइरहेको छ । अस्पतालको नाममा विराटनगरको मुख्य बजारमा ५ बिघा ८ कट्ठा जग्गा छ ।
बारम्बार राजनीतिक हस्तक्षेप हुँदा र पहुँचवालाको हालीमुहाली चल्दा अस्पताल धराशायी बनिरहेको छ । अस्पतालमा सेवा र पूर्वाधार विस्तारमा अवरोध पुगिरहेको छ । आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणले सहज उपचार पाउन सकिरहेका छैनन् ।
समितिमार्फत जग्गा फिर्ता विशेष अभियान चलाइने संयोजक बुढाथोकीले बताए । साथै अस्पतालको सेवा सुधार र राजनीतिक हस्तक्षेप बन्द गराउनका लागि चरणवद्ध आन्दोलन गरिने उनको भनाइ छ ।
Discussion about this post