विराटनगर । भारतको जोगवनी आउँदै गरेको रेलभित्र एकजना नेपाली बालक बेवारिस अवस्थामा भेटिएका छन् । कैलालीको गोदावरी नगरपालिका–२ मालिका टोल घर बताउने १३ वर्षीय विशाल विक अलपत्र अवस्थामा भेटिएका हुन् ।
उनलाई विराटनगर ल्याइएको छ । मोरङको ग्रामथान गाउँपालिका–५ का काजी विकले ती बालकलाई सोमबार विराटनगर ल्याएर रानीस्थित आफन्त नेपाल नामक संस्थाको जिम्मा लगाएका हुन् ।
भारतको पञ्जावबाट जोगवनी आउँदै गर्दा नेपाली बालकलाई रेलभित्र बेवारिसे अवस्थामा देखेपछि आफूले ल्याएर संस्थाको जिम्मा लगाएको काजीले बताए । नेपाली भएको थाहा पाएपछि माया लागेर बालकलाई आफूले नेपाल ल्याइदिएको उनको भनाइ छ ।
रेलमा यात्रा गर्ने क्रममा अलीगढ आएपछि आफूले बालकलाई भेटेको काजीको भनाइ छ । ‘ कुराकानीका क्रममा बालकले बुवा–आमासँग केही दिनअघि पञ्जाव घुम्न गएको बताए । सँगै घर फर्किदै गर्दा पानी लिन ओर्लिएका बेला ट्रेनले छाड्यो भनेका छन् ।’
बालकले आफ्नो घर कैलालीको गोदावरी–२ मालिका टोल भएको बताए । बुवा, आमा, दिदी र भाइसँग केही दिनअघि पञ्जाव घुम्न गएको उनले बताएका छन् । ‘पञ्जावमा चार दिनसम्म बसेर सबै जना ट्रेनमा घरतिर फर्किदै थियौं । बीचमा रोकिएका बेला म पानी लिन ओर्लिएको थिएँ,’ बालकले भने, ‘त्यतिबेलै मलाई छाडेर ट्रेन हिँड्यो ।’
उनले आफू अप्ठेरोमा परेको र नेपाल जाने भनेपछि भारतीय प्रहरीले जोगवनीसम्म आउने अर्को रेल चढाइदिएको बताएका छन् । बालकले आफ्ना बुवाको नाम अर्जुन विक र आमाको नाम सुन्तली विक भनेका छन् । अहिले बालकलाई आफन्त नेपालमै राखिएको छ ।
आफन्त नेपालको विराटनगर शाखा प्रमुख माधुरी लिम्बू प्रहरीसँग समन्वय गरेर बालकका अभिभावक पत्ता लगाउने प्रयास भइरहेको बताउँछिन् ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक प्रकाश रेग्मीले अभिभावक पत्ता लगाउन बालकले बताएको ठेगानाका जनप्रतिनिधि र प्रहरीसँग समन्वय भइरहेको बताए ।
Discussion about this post