ताप्लेजुङ । दुई पटक खाना पकाउने ग्यासको मूल्य घट्दा पनि ताप्लेजुङका व्यापारीले उपभोक्तासँग पुरानै मूल्य लिइरहेको पाइएको छ ।
व्यापारीले मुल्य नघटाउँदा उपभोक्ता बढी मूल्यमा ग्यास खरिद गर्न बाध्य छन् ।
ताप्लेजुङ सरदरमुकाम फुङलिङ बजारका व्यापारीले चर्को मूल्यमौ ग्यास बिक्री गरिरहँदा पनि प्रशासनले चासो नदिएको स्थानीयको भनाइ छ ।
महंगो मुल्यमा ग्यास सिलिण्डर खरिद गर्नुपर्दा उपभोक्ता मारमा परेका छन्।
सरकारले ग्यासको मूल्य घटाए पनि अनुगमन नहुँदा व्यापारीले मनोमानी मूल्यमा सामान बिक्री गर्ने गरेको पाइएको हो ।
फुङलिङ बजारमा व्यापारीहरूले प्रतिसिलिन्डर एलपी ग्यासको मूल्य दुई हजार एक सय ५० रुपैयाँसम्म लिने गरेका छन् ।
सरकारले पछिल्लोपटक गत मंगलबार ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय ३० रुपैयाँ घटाएको थियो ।
नेपाल आयल निगमले मूल्य घटाएपछि केन्द्रमा एउटा ग्यास सिलिन्डरको मूल्य एक हजार ६ सय ६० रुपैयाँ कायम भएको छ। ढुवानी खर्च वृद्धि भएकाले ग्यास पुरानै मूल्यमा बिक्री गर्दै आएको व्यापारीहरुको भनाई छ ।
व्यापारीहरूले चर्को मूल्य असुलिरहँदा पनि जिल्ला बजार अनुगमन समिति भने बेखबर छ। समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई ग्यासको बिक्री मूल्यका सम्बन्धमा अहिलेसम्म कसैले कुनै गुनासो नगरेबो बताउँछन् ।
Discussion about this post