इलाम । इलामको सूर्योदय नगरपालिकामा श्रीमतीको हत्या गरी श्रीमान फरार भएका छन् ।
सूर्योदय नगरपालिका २ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका चेपाङे भनिने पूर्णबहादुर तामाङ कान्छी श्रीमतीको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डीएसपी प्रकाश जवेगुका अनुसार सोमबार राति ५० वर्षीय पूर्णबहादुरले ४५ वर्षीया श्रीमती डम्बरकुमारी तामाङको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनका अनुसार घटनाअघि दुईजनाबीच सामान्य झगडा भएको थियो । झगडापछि राती पूर्णबहादुरले डम्बरकुमारीको घुच्चुकमा बामफोक प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
पाँचथरको फिदिम नगरपालिका ४ जोरसाल घर भएका पूर्णबहादुर श्रीमती सहित सूर्योदय नगरपालिकामा डेरा गरी बस्दै आएका थिए ।
फरार पूर्णबहादुर खोजी र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post