विराटनगर । विराटनगरको एमएम प्लाष्टिक उद्योगमा आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको छ ।
सुयश प्याकुरेलले विराटनगर महानगरपालिका–१४ मा सञ्चालन गरेको उद्योगमा बुधबार बिहानका राति १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । प्याकुरेल उद्योग संगठन मोरङका पूर्वअध्यक्ष पनि हुन् । उनले प्लाष्टिक उत्पादन गर्दै आएको उद्योगको तीन तले भवनको भुइँ तलामा रहेको ‘युपिएस रूम’मा आगलागी भएको जानकारी दिए ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । नेपाल प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकललाई आगो नियन्त्रणमा लिन दुई घण्टाजति समय लागेको थियो । एसपी पोखरेलका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको छ ।
आगोले दुईवटा युपिएस, दुई सयवटा ब्याट्री, एसी, इन्भटर, केवललगायत जलेर ध्वस्त भएको उद्योगका सञ्चालक प्याकुरेलले बताए । भवनमा समेत आंशिक क्षति पुगेको उनको भनाइ छ । ब्याट्री पड्किएर आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको प्याकुरेलले बताए । आगोले उद्योगका कच्चा पदार्थ र तयारी वस्तुमा भने क्षति नपुगेको उनको भनाइ छ ।
Discussion about this post