झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई बन्धक बनाउन नमिल्ने बताएका छन् ।
झापाको बिर्तामोडमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले राजनीतिक खिचातानीका कारण सांसद अबरुद्ध गर्न नहुने बताएका हुन् ।
‘जनताका धेरै कुरा उठाउनु छ’ उनले भने ‘चाँडोभन्दा चाँडो सदन खुलाउनुस् ।’
सुन तस्करी प्रकरणको अनुसन्धानमा उच्चस्तरीय छानबिन आयोगको माग राखेर एमालेले लगातार संसद अवरुद्ध गरिरहेको छ ।
लामिछानेले पुराना पार्टीका नेताहरू अवैध सम्पत्ति लुकाउन लागिपरेको आरोप लगाए । ‘देशलाई कङ्गाल बनाएर थुपारेको सम्पत्तिको हिसाब हामी खोज्ने छौं’ उनले भने ।
पुराना पार्टीका नेताहरूकै कारण युवाहरू विदेश पलायन हुने क्रम बढेको र देशमा बसेर केही गर्न सकिन्छ भन्ने विश्वास युवामा हराएर गएको उनले बताए ।
सभामा पार्टीका केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल, संघीय संसदका प्रमुख सचेतक सन्तोष परियार, सांसद निशा डाँगी, केन्द्रीय सदस्य रमेश प्रसाईलगायतले सबोधन गरेका थिए ।
सभापति लामिछानेले झापामा दुई दिनमा ८ वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।
Discussion about this post