इलाम । गत साउन १८ गते राती माईजोगमाई गाउँपालिकाको कार्यालय भित्र आगलागी भएको विषय करिब १५ दिनपछि सामाजिक सञ्जालमा छाउन थाल्यो । एकाएक यो विषय किन छाउन थाल्यो गाउँपालिकाबासी अचम्मित छन् । कतिपयले आगलागी ‘रहस्यमय’ भएको प्रतिक्रिया दिइरहेका छन् ।
साउन १८ गते राती करिब ८ बजेपछिको समयमा गाउँपालिकाको कार्यालयमा आगलागी भएको थाहा पाएपछि स्थानीयले जनप्रतिनिधि, कर्मचारी र प्रहरीलाई खबर गरे । प्रहरी र स्थानीयको सहयोगमा केही क्षणमा आगो नियन्त्रणमा लिइयो ।
१९ गते बिहान गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेसहित जनप्रतिनिधि, कर्मचारी र प्रहरी बसेर क्षतिको तथ्यांक लिइयो । आगलागिका कारण १३ लाख, ६० हजार छ सय क्षति भएको तथ्यांक तयार पारियो ।
गाउँपालिका कार्यालय भवनको ‘सर्बर’ भएको ठाउँबाट आगलागी सुरु भएको अनुमान गरियो ।
आगलागीबाट कार्यालयमा जडित सिसी क्यामेरा ध्वस्त भएको थियो । प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख गोकुल सञ्जेलका अनुसार इन्भर्टरसहित ४ वटा ब्याट्री समेत जलेको थियो ।
कार्यालयको कागजपत्र भएको ठाउँमा आगलागी पुग्न पाएन । त्यसअघि नै आगलागी नियन्त्रणमा लिइयो । आगलागीबाट कागजपत्र कुनै नजलेको बताइएको छ ।
आगलागीका कारण र सत्यतथ्य पत्ता लगाउन गाउँपालिका अध्यक्ष थेवेसहित राजश्व तथा सहकारी शाखाका कर्मचारी अशोक लिम्बु लगायत रहने गरी समिति गठन गर्यो ।
साथै प्रहरीका प्रतिनिधि, बिद्युतका कर्मचारी र वडा नम्वर १ का वडाध्यक्ष रहने गरी छानबिन समिति गठन गरेको थियो ।
सो समितिले के काम गर्यो कसैलाई थाहा छैन । सार्वजनिक नै भएन । यस विषयमा गाउँपालिका अध्यक्ष थेवेलाई फोन गर्दा उठ्दैन, कर्मचारी लिम्बूको मोबाइल स्वीच अफ छ ।
यता, सामाजिक सञ्जालमा दोषी भनेर चर्चा भएका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको यसअघि नै सरुवा भइसकेको छ ।
कोशी प्रदेश मुख्य मन्त्रीको कार्यालयमा सरुवा भएका राईलाई पछिल्लो समय मोरङको मधुमल्ला गाउँपालिका जान मन्त्रालयले खटाइसकेको छ ।
यस विषयमा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत राईले एउटा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा आगजनी गर्न नसक्ने भन्दै आफूमाथि लागेको आरोप झुटो भएको दावी गरे ।
सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गर्ने काम भएको उनको भनाई छ । गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले यस विषयमा गाउँपालिकाको कार्यपालिका बैठकमा समेत कुरा उठेको बताइन् ।
उनले यस विषयमा आफूहरु गम्भीर भएर छानबिनमा लागेको बताइन् । छानबिन समितिबाट आएको प्रतिवेदनपछि मात्र गाउँपालिकाले आधिकारिक धारणा बनाउने उनको भनाई छ ।
Discussion about this post