विराटनगर । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले लागूऔषध प्रयोग गर्न छाडेका युवालाई परिवार र समाजमा पुनःस्थापना गर्न स्वरोजगार बनाउनुपर्नेमा जोड दिएकी छन् ।
रिकोभरिङ नेपालले विराटनगर महानगरपालिकाको न्यायिक समितिसित आयोजना गरेको अन्तरक्रियामा बोल्दै उपमेयर कार्कीले सुधार केन्द्र बसेर उपचार सकेका युवालाई घर र समाजमा पुनःस्थापित गराउन स्वरोजगार बनाउनु आवश्यक रहेको बताइन् ।
अन्तरक्रियामा रिचमण्ड फेलोसिपका कार्यक्रम व्यवस्थापक तथा रिकोभरिङ नेपालका उपसभापति संजीव चापागाईंले लागूऔषध ऐन–२०३३ संशोधन गर्नुपर्नेमा जोड दिए ।
उनले २०३३ सालमा बनेको लागूऔषध ऐन अहिलेको अवस्थामा व्यवहारिक नहुने तर्क गरे । “लागूऔषध प्रकारदेखि प्रयोग गर्ने तरिकासमेतमा परिवर्तन आइसकेको छ,” चापागाईंले भने “२०३३ सालको ऐनले खानेलाई पनि दण्ड सजायको व्यवस्था गरेको छ । त्यो ऐन व्यवहारिक भएन र समयअनुकूल पनि भएन । पञ्चायती व्यवस्थामा बनेको कानुन बहुदलीय हुँदै अहिले हामी गणतन्त्रमा छौं । कम्तिमा समयअनुकूल ऐन बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।”
अन्तरक्रियामा रिकोभरिङ नेपालका सभापति चन्द्र बराल, महासचिव जय देवकोटा, स्पर्श नेपालका संजीव खड्का, महानगरको कानुनी सल्लाहकार ज्ञानेन्द्र थापा, डिल्ली घिमिरे, कानुन शाखाकी अधिकृत शारदा थपलियालगायतले धारणा राखेका थिए ।
Discussion about this post