विराटनगर । विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुस्त बनाउने विराटनगर महानगरपालिकाको अभियानलाई सफल बनाउन बैंकर्सहरुले प्रतिबद्धता जनाएका छन् ।
महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीको उपस्थितिमा बैंकर्सहरुसित भएको छलफलमा विराटनगरभित्र सञ्चालित सबै बैंकका प्रमुखहरुले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापन अभियान सकारात्मक भएकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनीहरुले तत्कालका लागि बैंकमा आउने सेवाग्राहीलाई महानगरले व्यवस्था गरेको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्न अनुरोध गर्ने बताए । एनएमवी बैंकका प्रदेश प्रमुखसमेत रहनुभएका नेपाल बैंकर्स एसोसिएन कोशी प्रदेशका अध्यक्ष सन्तोषकुमार बुढाथोकीले महानगरले सुरु गरेको ट्राफिक व्यवस्थापनको अभियान अत्यन्तै राम्रो भएको प्रतिक्रिया दिए ।
उनले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा बैंकहरुका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । बैंकमा आउने सेवाग्राहीलाई तत्कालका लागि पायक पर्ने पार्किङस्थलमा सवारी साधन राख्न लगाउने उनले बताए ।
हिमालयन बैंकका प्रदेश प्रमुख अमृत मल्लले तत्कालका लागि बैंकहरुले आफ्नै पार्किङस्थल बनाउन समस्या रहेको बताए । उनले बैंक छेउछाउ खाली जमिन भए त्यसलाई बैंकहरुले भाडामा लिएर भए पनि पार्किङस्थल बनाउन सक्ने उल्लेख गरे ।
छलफलमा एनआईसी एसिया बैंकका प्रमुख हीरा पौडेल, गरिमा विकास बैंकका प्रमुख सुजित रेग्मी, माछापुच्छे बैंकका उत्सव पराजुलीलगायतले महानगरको अभियानलाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
Discussion about this post