विराटनगर । खुला सीमाको फाइदा उठाउँदै कोशी प्रदेशका नाकाहरुबाट लागूऔषधको ओसारपसार बढेको छ । प्रहरीका सीमावर्ती क्षेत्रमा स्थापित इकाइहरुमा लागूऔषधसम्बन्धी मुद्दा बढी पर्ने गरेकोबाट पनि कारोबार र ओसारपसार बढेको पाइएको हो ।
तीन वर्षयता लागूऔषधसँग सम्बन्धित मुद्दाको संख्या निकै बढेको छ । विराटनगरको रानीस्थित इलाका प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका ३ सय २२ वटा मुद्दामध्ये लागूऔषधसँग सम्बन्धित २ सय ७ वटा मुद्दा छन् ।
अघिल्लो आर्थिक वर्षमा लागूऔषधसँग सम्बन्धित १ सय ९३ वटा मुद्दा दर्ता भएको तथ्यांक छ । त्यसअघिको वर्षमा १ सय १ वटा मुद्दा दर्ता भएका थिए ।
रानीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्दीप बेलबासेका अनुसार लागूऔषध ओसारपसार बढेसँगै नियन्त्रणका लागि सक्रियता बढाइएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, इलामलगायतका जिल्लामा लागूऔषधसँग सम्बन्धित घटना बढेको देखिएको छ ।
कोशीमा आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका ८ हजार ७ सय १९ वटा मुद्दामध्ये लागूऔषधसँग सम्बन्धित ७ सय ८९ वटा रहेको उक्त कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार लागूऔषधसहित १ हजार १ सय ४१ जना पक्राउ परेका छन् । २०७८÷०७९ मा १ हजार १ सय १८ र २०७७/०७८ मा १ हजार ४५ जना पक्राउ परेका थिए । २०७९/०८० मा गाँजा ५ हजार ८ सय १४ किलोग्राम, ब्राउन सुगर २ किलो ८० ग्राम, विभिन्न प्रकारका लागूऔषध २७ हजार ६ सय १८ ट्याब्लेट, १० हजार १ सय ७५ एम्पुल बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार लागूऔषध ओसारपसार, कारोबार र सेवनमा विशेष गरेर युवा पुस्ताको संलग्नता बढी देखिएको छ । विभिन्न आपराधिक घटनाहरुमा लागूऔषध प्रयोगकर्ताहरुको संलग्नता देखिएकाले पनि समस्यालाई गम्भीर रुपमा लिइएको छ ।
सुनसरीमा पनि यस्ता घटना बढिरहेका छन् । सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालका अनुसार लागूऔषधका कारण समाजमा अपराध पनि बढिरहेको पाइएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला दुर्व्यसनका कारण विभिन्न आपराधिक घटना बढिरहेको तथ्यांकले देखाएको बताउँछन् । उनका अनुसार प्रदेशमा लागूऔषध नियन्त्रणका लागि विशेष कार्ययोजना बनाएर लागू गरिएको छ ।
कानुनबमोजिम कारबाहीसँगै व्यक्ति र समाजलाई सचेत गराउने काम भइरहेको उनले बताए । लागूऔषधविरुद्ध प्रहरी आक्रामक बनेपछि कारोबार र ओसारपसारमा संलग्न पक्राउ पर्ने क्रम बढेको बास्तोला बताउँछन् ।
बास्तोलाका अनुसार लागूऔषधविरुद्धको अभियानलाई प्रभावकारी बनाउन विभिन्न प्रहरी युनिटमा ‘फोकल अफिसर’ तोक्ने, सम्भावित स्थानमा निगरानी बढाउने, लागूऔषधसँग सम्बन्धित व्यक्ति पहिचान र पक्राउ गर्ने, सचेतनामूलक कार्यक्रमलाई तीव्र बनाउने एवं मनोपरामर्शलाई प्राथमिकतामा राख्ने गरिएको छ ।
पछिल्लो १ वर्षमा मात्रै लागूऔषधविरुद्ध १ हजार ३ सयभन्दा बढी मनोसामाजिक परामर्श कक्ष र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बास्तोलाले बताए ।
Discussion about this post