काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले काङ्ग्रेस उपसभापति, उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपचाररत पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
उपप्रधानमन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न मुख्यमन्त्री थापा वीरेन्द्र सैनिक अस्पताल छाउनी पुगेका थिए ।
उपप्रधानमन्त्री खड्कालाई भेटेपछि मुख्यमन्त्री थापाले भने, ‘उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ, दुई तीन दिनपछि डिस्चार्ज हुनुहुने अवस्था रहेछ ।’
हाल काठमाडौँमा रहेका थापाले विश्वासको मतबारे मुद्दाका सन्दर्भमा राखिएको जिज्ञासामा भने, ‘सम्मानित सर्वोच्च अदालतमा बहस भइरहेको छ, अब हेरौँ ।’
मुख्यमन्त्री थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् ।
रिट निवेदनको सुनुवाइका लागि आइतबारको इजलासमा विपक्षीका तर्फबाट सुरुमा संवैधानिक इजलासको माग भएकामा न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाले पूर्ण इजलासमा निरन्तर सुनुवाइबाट टुङ्ग्याउने गरी आदेश दिएका थिए ।
Discussion about this post