विराटनगर । ‘शिवशक्ति बाबा’ को नाममा सर्वसाधारण ठगिएको पाइएको छ । युट्युब र अरु सञ्जालहरुमा धेरै बिरामीलाई निको बनाएको भनेर चर्चामा रहेकाले धेरैले उनीबाट उपचार गराउने गरेको पाइएको छ । यस क्रममा सर्वसाधारण ठगिने गरेका हुन् ।
यसरी ठगिनेमा धनकुटाका पूर्वजनप्रतिनिधि योगेन्द्र राई पनि छन् । प्यारालाइसिसको समस्या देखिएपछि २०७६ सालदेखि उनको देब्रेतर्फको हात र खुट्टा चल्न छाड्यो । नेपाल र भारतमा उपचार गराउँदा ३० लाख हाराहारी खर्च भएको उनले बताए ।
त्यति गर्दा पनि ठिक नभएपछि उनी ‘शिवशक्ति बाबा’ को शरणमा पुगेका थिए । त्यहाँ प्रवेश शुल्कका नाममा सुरुमै ४० हजार रूपैयाँ उनीसँग मागिएको थियो । त्यसबाहेक भेटीका नाममा बेग्लै रकम दिनुपर्यो ।
निको हुने आशमा २० दिन उनी त्यहाँ बसेका थिए । तर निको हुने छाँट नदेखेपछि उनी फेरि चिकित्सककै सम्पर्कमा गए । चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन र थेरापी गर्न थालेपछि विस्तारै निको हुँदै गएको र अहिले देब्रे हातको कुहिनादेखि तलको भागमा मात्रै समस्या रहेको उनले बताए ।
तन्त्रमन्त्र र झारफुकको बहानामा सर्वसाधारणसँग जथाभावी पैसा लिने काम भइरहेको उनले बताए । उनका अनुसार उपचारका लागि पुग्नेलाई युट्युबरले ‘रोग निको भयो, मलाई विश्वास लाग्यो’ भनेर बोल्न बाध्य पार्दै भिडियो बनाएर यूट्युबमा पोस्ट गर्ने गरेका छन् ।
मोरङको लेटाङ नगरपालिका–२ का आशिष राईले नशासम्बन्धी समस्या भएका बुवा ६८ वर्षीय रत्नकुमार राईलाई उपचारका लागि बाबाकोमा पुर्याए । धेरैतिर उपचार गराउँदा ठिक नभएपछि उनले बाबाकोमा बुवालाई लगेको सुनाए ।
आशिषका अनुसार २०७९ असारमा बाबाकोमा पुर्याउनु अघिसम्म बुवा रत्नकुमार मजाले हिँडडुल गर्न सक्थे । त्यहाँ १५ दिनजति बसेपछि बुवालाई झन् गाह्रो भएको उनले बताए । त्यसपछि फर्काएर ल्याउँदै अहिले चिकित्सकको सल्लाहबमोजिम औषधि खुवाइरहेको उनको भनाइ छ । उनले बाबाकोमा ७० हजार खर्च गरे ।
आशिषले पनि जस्तोसुकै बिरामी निको पार्ने भनेर यूट्युबमार्फत प्रचार गर्दा विश्वासमा परेर धेरै सर्वसाधारण ठगिरहेको सुनाए ।
आफूलाई ‘शिवशक्ति बाबा’ बताएर सर्वसाधारणमाथि ठगी गर्ने व्यक्ति मोरङको लेटाङ नगरपालिका–९ जाँतेका मिलन भनिने सुजनकुमार पूर्वछाने मगर हुन् । उनीबाट ठगिनेहरुको संख्या धेरै छ ।
उनले बिरामीलाई बस्ने व्यवस्थासहित घरमै शिवको मन्दिर बनाएका छन् । उपचारका लागि आउनेलाई चमर, त्रिशूल र घण्टाले हानेर निको पार्ने आश्वासन दिन्छन् । स्थानीयका अनुसार उपचारका लागि पुगेकामध्ये हालसम्म ४ जनाको मृत्यु भइसकेको छ । बिरामीको मृत्यु भएमा सुटुक्क एम्बुलेन्स बोलाएर शव पठाउने गरिएको गाउँलेले बताए ।
आफूविरुद्ध कसैले बोले अनिष्ट हुने भनेर उनले धम्क्याउने गरेका छन् । खुन छादेर मर्ने, मुन्धुम प्रयोग गरी सिध्याइदिने जस्ता धम्की उनले दिने गरेका छन् ।
दुर्घटनाका घाइते, जन्मजात अपांगता, गम्भीर प्यारालाइसिस, छाला रोग सम्बन्धी पुरानो समस्या, महिनावारी गडबडी, बोली नआउने, मिर्गी रोगलगायतको उपचार तान्त्रिक विधिबाट गर्ने भनेर भ्रामक प्रचार उनले गर्ने गरेका छन् ।
उनको अवैध धन्दा रोक्नुपर्ने माग स्थानीयले वडा कार्यालयसमक्ष राखेका छन् । असार ११ गते उजुरीसमेत दिएका थिइएको थियो । उपचार गराउन भनेर आएकाले मदिरा सेवन गरेर होहल्ला तथा झैझडा गर्ने र समाजमा अनेक विकृति फैलाउने गरेको विषय उजुरीमा खुलाइएको छ । वडाले त्यसको सुनुवाइ गरेको छैन ।
‘शिवशक्ति बाबा’ भनिने सुजन भने आफूले उपचार गरेर बिरामीलाई सेवा दिइरहेको दाबी गर्छन् । अस्पतालमा उपचार गराएर सबै पैसा सकिएपछि ठीक नभएका बिरामी आफूकहाँ आउने उनको दाबी छ ।
आफूलाई जन्मैदेखि देवीशक्ति प्राप्त भएको दाबी गर्ने उनका अनुसार उपचारका लागि आएका ९५ प्रतिशत निको भएका छन् ।
लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौलाले ‘शिवशक्ति बाबा’ले पैसा असुलेर धेरै दुःख दिइरहेको कुरा आएको बताइन् । धामीझाँक्रीको चलन पहिलेदेखिकै भएकाले मान्छेहरु विश्वासले पुग्ने गरेको हुनसक्ने उनले बताइन् ।
Discussion about this post