काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चार माध्यमको प्रस्तुति र भूमिकालाई परिस्कृत गर्न जरुरी भएको बताएका छन् ।
यसतर्फ ध्यान दिन उनले सञ्चार माध्यमलाई सुझाव पनि दिएका छन् । व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएकोतर्फ सञ्चार माध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उनको भनाइ छ ।
‘कोही पनि भ्रममा नपरौँ । सामाजिक सञ्जालमा पस्किएका सबै विषय समाचार होइनन्’ उनले भने, ‘तर, त्यस्ता विषयवस्तुले जनमानसलाई झुक्याइरहेका छन् । सञ्चार माध्यमले आफ्ना तथ्यपूर्ण र विश्वसनीय प्रस्तुतिबाट यस्ता भ्रम हटाउन सक्नुपर्छ ।’
अध्यक्ष बस्नेतले नयाँ खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकलाई सोमबार काउन्सिलमा दिइएको अभिमुखीकरणका यस्तो बताएका हुन् ।
उनले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने कतिपय अनलाइनले पत्रकारिता जगतमै हिलो छ्यापेकाले तिनलाई काउन्सिलले कारबाही गर्दै आएको जानकारीसमेत दिए ।
अभिमुखीकरणका सहभागीलाई पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाहरुमा केन्द्रित रही प्रस्तुति राखिएको थियो ।
डिजिटल मिडियाले ल्याएको चुनौती र सञ्चार माध्यमले ध्यान पुर्याउनुपर्ने विषयबारे काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राईले प्रकाश पारेका थिए ।
कार्यक्रममा विभिन्न ३२ सञ्चार माध्यमका सञ्चालक तथा सम्पादकको सहभागिता थियो ।
Discussion about this post