विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्रीको निवासअगाडि सोमबार सवारी दुर्घटना भएको छ ।
विद्यार्थी बोकेको कलेज बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ ।
नेशनल एकेडेमी कलेजको ग १ ख ७६९९ नम्बरको बसले रानी–विराटनगर सडकखण्डअन्तर्गत विराटनगर महानगरपालिका–१३ मा साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
विद्यार्थी बोकेर रानीबाट विराटनगरतर्फ आउँदै गरेको बसले सडक पार गर्दै गरेको साइकललाई ठक्कर दिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
डीएसपी दाहालका अनुसार दुर्घटनामा मोरङको रंगेली नगरपालिका–१ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको छ ।
कलेज बसले बिहान ११ः३० बजेतिर ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका श्रेष्ठ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा न्युरो अस्पतालमा साँझ ५ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बस र चालक विराटनगर–३ का ५६ वर्षीय दलबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दीप बेलबासे नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post