दुहबी । सुनसरीको दुहबी नगरपालिकाले नगरका ८० जना दलित , अल्पसंख्यक तथा सुकुम्बासीलाई ८० वटा घर बनाएर हस्तान्तरण गरेको छ ।
दुहबी नगर प्रमुख बेद गच्छदारले सुकुम्बासीहरुलाई घरको चाबी र घर आवासको प्रमाणपत्र प्रदान गरे ।
दुहबी वडा १ देखि १२ सम्मका अल्पसंख्यक, दलित सुकुम्बासीहरुलाई घर हस्तान्तरण गरिएको हो ।
नगर प्रमुख आवास योजना कार्यक्रम अनुसार २०७६ फागुन १५ गते शिलान्यास गरिएका ११६ मध्ये निर्माण सम्पन्न भएका ८० घर ८० परिवारका हस्तान्तरण गरिएको हो ।
करुणा फाउन्डेशनको ५० लाख सहयोग र दुहबी नगरपालिकाको ७ करोड ५० लाख गरी कुल ८ करोड लागतमा २ बिगाह २ कठ्ठा क्षेत्रफलमा दुहबी ११ तनमुनामा घर बनाइएको हो ।
२ कोठे घर, शौचालय, पानी ट्यांकी, खेलमैदान, सामुदायिक भवन, बिद्युत सहितको सुविधा आवास क्षेत्रमा छ ।
नगर प्रमुख गच्छादारले घर मात्रै दिएर आफु पन्छिन खोजेको नभइ सुकुम्बासीहरुलार्इ स्वरोजगार र आत्मनिर्भर बनाउन लघु उद्यममार्फत सीप सिकाइ बिउपुँजी समेत दिएर उद्यमी बनाइने बताए ।
सुकुम्बासीका बालबालिकाका लागि प्राथमिक तहसम्म सोही बस्तीमा विद्यालय, खेलकुद स्थल निर्माण गरिने जनाइएको छ ।
राष्ट्रिय सुकुम्बासी आयोगले दुहबीका २ हजार ८५६ भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीलाई निस्सा बितरणपछि दिइने लालपुर्जा अनुसार नगर प्रमुख आवास योजनामा बस्ने सुकुम्बासीहरुलाई लालपुर्जा नै उपलब्ध गराइने उनले प्रतिबद्द्ता ब्यक्त गरे ।
Discussion about this post