इटहरी । संघीय सासद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले पुराना नेताहरु ‘डेट एक्सपायर’ भएको बताएकी छन् ।
सुनसरीको इटहरीमा आज लेडी जेसिजले आयोजना गरेको जेसिज सप्ताहको समापन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् ।
पुरानो औषधि प्रयोग गरे शरिरलाई फाइदा पुग्नुको साटो हानि हुने बताउँदै उनले डेट एक्सपायर औषधि प्रयोग गरेर हानि पुर्याएपछि नयाँ औषधि प्रयोग गरिएझैँ युवाहरुलाई मौका दिनुपर्ने बताइन् ।
उनले बुवा आमाको सपनालाई तिलाञ्जली दिएर राजनीतिमा केही गर्न आएको बताउँदै पुराना नेताहरुबाट अब देश चल्न नसक्ने दाबी गरिन् ।
सबै क्षेत्रमा अवकाश लिएर बस्ने परम्परा भएपनि राजनीतिमा अवकाशको लिने परम्परा नभएको बताउँदै काम गर्न नसक्ने, बोल्नै नसक्ने नेताहरुले अब अवकाश लिनुपर्ने बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा. कार्कीले बृद्धावस्थामा पुगेका नेताहरुले आफूहरुलाई सहारा दिनुपर्ने, नदिए खोसेर लिन समेत युवाहरु तयार हुनुपर्ने बेला आएको बताइन् ।
पुराना नेताहरुले नेताको परिभाषा नै गलत ढंगबाट दिएका कारण बाटोमा हिँड्ने क्रममा समेत नेता भएर शानका साथ आफूहरु हिँड्न नसक्ने अवस्था आएको उल्लेख गरिन् ।
उनले आफनो पार्टी भ्रष्टाचारमा शून्य सहनशीलताका साथ अघि बढेको बताउँदै आफूहरुलाई विश्वास गरे २०८४ को चुनावपछि केही गरेर देखाउने दाबी समेत गरिन् ।
डा कार्कीले युवाहरुलाई नेपालमै बस्ने र बिदेशबाट फर्किएका युवाहरुलाई समेत यहीँ राख्ने अवस्था सरकारले बनाउन नसकेको आरोप लगाइन् ।
एक हप्तासम्म चलेको लेडी जेसिजको कार्यक्रम समापनका अवसरमा संविधान सभा सदस्य रेवती भण्डारी, प्रदेश सभा सदस्य केदार कार्कीलगायतको उपस्थिति थियो ।
सप्ताहमा स्वास्थ्य शिबिर लगायत बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको अध्यक्ष सुमित्रा भट्टराईले बताइन् ।
Discussion about this post