विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापाले कांग्रेस र एमाले मिलेर सरकार बन्ने सम्भावना रहेको बताएका छन् ।
आधा–आधा कार्यकाल बाँडेर प्रदेश सरकार चलाउन सम्भव रहेको उनको भनाइ छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथग्रहण समारोहमा सहभागी भएका थापाले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘शीर्ष नेतृत्वबाट निर्णय भएमा संयुक्त एवं सहमतिको सरकार बनाउन सम्भव छ’ उनले भने ।
कार्की नेतृत्वको सरकारले ३० दिनभित्रमा विश्वासको मत नपाएमा संविधानको धारा १६८ को उपाधारा ५ बमोजिम नयाँ सरकार गठन हुने छ ।
यो उपाधारा बमोजिम बहुमत पु¥याउने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ । त्यो सरकारको दाबी गर्न आफूसँग ४७ मत रहेको थापाले बताए ।
उपाधारा ५ अनुसारको सरकार आफ्नो नेतृत्वमा बन्ने दाबी थापाले गरे । अहिलेको सरकारले विश्वासको मत नपाएमा उपाधारा ५ बमोजिम सरकार बन्ने र त्यसले पनि विश्वासको मत नपाए प्रदेश मध्यावधि निर्वाचनमा जाने उल्लेख गर्दै थापाले तर आफू सकेसम्म मध्यावधिमा जान नपरे हुन्थ्यो भन्ने पक्षमा रहेको बताए ।
शपथलगत्तै मुख्यमन्त्री कार्कीले पनि प्रदेशमा सहमतिको सरकार बनाउने प्रयास हुने बताएका थिए ।
Discussion about this post