टीका खतिवडा
इलाम । इलामको माईजोगमाई गाउँपालिका पुगेका प्रमुख प्रशासकीय अधिकृत स्काई पोख्रेलले कार्यालयमा हाजिर गर्न पाएनन् ।
आइतबार दिउँसो करिब साढे ११ बजे गाउँपालिकाको कार्यालय पुगेका उनलाई कार्यालयमा हाजिरी गर्न दिइएन ।
ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा कार्यरत पोख्रेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ४ गते सरुवाको पत्र दिएको थियो ।
सिरिजंगा गाउँपालिकाबाट भदौ १७ गते रमाना लिएर आइतबार गाउँपालिका पुगेका प्रमुख प्रशासकीय पोख्रेललाई अध्यक्षले हाजिर नगराउनु भन्दै गाउँपालिकामा हाजिर गर्न दिइएन ।
मन्त्रालयले सरुवा गरेको २१ दिन सम्ममा सम्वन्धित कार्यालय पुगेर हाजिर गर्नु पर्ने प्रावधान हुन्छ ।
प्रमुख प्रशासकीय पोख्रेलले सरुवा र रमाना पत्रसहित पुगेको आफूलाई गाउँपालिकाले हाजिरी गर्न नदिएपछि पत्र दर्ता गरेर आफु फिरेको बताए ।
माईजोगमाई गाउँपालिकाको कार्यालयमा सरुवाको पत्र पाएपछि गाउँपालिका अध्यक्ष कुशबहादुर थेवेलाई जानकारी गराउँदा आफुले ‘ग्रीन सिग्नल’ दिएपछि मात्र गाउँपालिकामा हाजिर गर्नु भनेर म्यासेज गरेको पोख्रेलको भनाई छ ।
आइतबार विद्युतीय हाजिरी गर्न खोज्दा इन्टरनेटको समस्या भएको जानकारी आफूले पाएको पोख्रेलको भनाई छ । ढड्डामा हाजिरी गर्न खोज्दा गाउँपालिकामा हाजिरी ढड्डा नभएको जानकारी पाएको उनले बताए ।
जनप्रतिनिधि, कर्मचारी र स्थानयिको रोहबरमा मुचुल्का उठाउन आग्रह गर्दा समेत नमानेको पोख्रेलले बताए ।
यता गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले अध्यक्ष थेबे बाहिर भएका कारण आफु भएको समयमा मात्र हाजिर गराउन आग्रह भएको बताइन् ।
उपाध्यक्ष राईले भनिन् ‘अध्यक्ष ज्यूले म नहुँदा हाजिर नगराउनु भन्नु भएको छ, उहाँ बाहिर हुनुहुन्छ ।’
गाउँपालिका अध्यक्ष थेबेले प्रमुख प्रशासकिय पोख्रेललाई पहिला रहेको गाउँपालिकामा फरफारक गरेर मात्र आउन भनेको जनाए । अध्यक्ष थेबेले सिरिजंगा गाउँपालिकाको काम सकेर भेट गर्ने र सल्लाह गर्ने कुरा अधिकृतसँग भएको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको र उनैसँग अनैतिक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि लेखा अधिकृत समेत कार्यालयमा छैनन् ।
हाल निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा इन्जिनियर प्रकाश चौधरीले काम गरिरहेका छन् ।
Discussion about this post