धरान । एक महिनाभित्र बढुवा प्रक्रिया अघि बढाउने सहमति भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन स्थगित भएको छ ।
प्रतिष्ठान पदाधिकारी र शिक्षक कल्याण समाजका पदाधिकारीबीच तीन बुँदे सहमति भएसँगै प्रतिष्ठानको शिक्षा महाशाखा र परीक्षा शाखामा लागेको ताला खुलाइएको छ ।
‘एक महिनाभित्र बढुवा प्रक्रिया सुरु गर्ने गरी सहमति भएको साथै त्यसको एक महिनामा सबै काम सक्ने र अन्तर्वार्ताको नतिजा सिनेटले पास गर्ने’ सहमति भएको शिक्षक कल्याण समाजका अध्यक्ष सेराज अहमत खानले बताए ।
नियमित रुपमा आन्तरिक बढुवा नहुँदा प्रतिष्ठानका महत्वपूर्ण विभागहरु प्राध्यापक बिनै सञ्चालनमा छन् । जसका कारण उपचार सेवा र आन्तरिक आम्दानीमा समेत असर परेको छ ।
सहमतिमा ‘२०८० पुस २० गते प्रकाशित आन्तरिक बढुवा, २०७९ माघ २५ गते प्रकाशित सेवाको पदपूर्ति गर्नेको प्रक्रियाको निरन्तरताको व्यवस्थापन गर्नका लागि सरोकारवाला निकायबाट सहमति लिई सम्पूर्ण पदाधिकारी सरोकारवाला समेतको प्रयासबाट एक महिनाभित्र बाँकी रहेको विभागहरुका अन्तर्वार्ता सञ्चालन गरी एक महिनाभित्र सम्पन्न गर्ने’ सहमति भएको छ ।
शिक्षक कल्याण समाजसँग सहमति भएसँगै कर्मचारी कल्याण समाजसँग समेत सहमति भएको छ । १० दिने अल्टिमेटम दिएर आन्दोलनको घोषणा गरेको कर्मचारी कल्याण समाजसँग प्रतिष्ठानले ४ बुँदे सहमति गरेको छ ।
त्यस्तै २०७८ सालको खाइपाइ आएको दुई हजार भत्तालाई तलबमा समायोजन गरी बजेटको उपलब्धताको आधारमा वितरण गर्ने समेत सहमति भएको छ भने करार सेवामा तीन वर्षभन्दा बढी काम गरेका कर्मचारीहरुलाई परफरमेन्स करार सेवा अन्तर्गत नियुक्ति गर्ने सहमति समेत भएको छ ।
सहमति पत्रमा प्रतिष्ठानका तर्फबाट कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्की, शिक्षाध्यक्ष प्रा.डा. सञ्जीव शर्मा, अस्पताल निर्देशक प्रा.डा. जगतनारायण प्रसाद र रजिस्ट्रार सूर्य संग्रौलाले हस्ताक्षर गरेका छन् भने आन्दोलनरत पक्षबाट चिकित्सक शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराज अहमद खान, मेडिसिन विभागका एडिस्नल प्रोफेसर डा. रवीन मास्के र एनाटोमी विभागका एसोसिएट प्रोफेसर डा. सन्दीप साहले हस्ताक्षर गरेका छन् ।
Discussion about this post