विराटनगर । चार दलीय समाजवादी मोर्चाले विराटनगरमा सोमबार आयोजना गरेको ‘सन्देशसभा’ मा मोर्चाका शीर्ष नेताहरुले सम्बोधन गरेका छन् ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेता सहभागी भएका थिए ।
प्रधानमन्त्री प्रचण्डले हिंसारहित युद्धका लागि लाखौं नेपाली जनतालाई सडकमा उतार्ने दाबी गरेका छन् । उनले वर्षौ जेलनेल भोगेर पार्टी खोलेका नेताहरू अहिले रक्षात्मक हुने अवस्था आएको बताए ।
हावाहुरीबाट आएका पार्टीहरूका कारण पुराना पार्टीहरू रक्षात्मक हुने अवस्था आएको उनको स्वीकारोक्ति छ ।
प्रधानमन्त्री दाहालले धरानमा सम्प्रादायिक मुठभेड निम्तिन नदिन आफूले धेरै मिहीनेत गरेको दाबी गरे । धर्म निरपेक्षको लागि लडेको पूर्वी क्षेत्रमा जातीय तथा धार्मिक द्वन्द्व फैलाउन खोजिएको उनको आरोप छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले समाजवादबाटै असमानताको अन्त्य गरिने र सबैलाई न्याय दिइने बताए । ‘मिसन समाजवाद’ लिएर आफूहरु अघि बढेको उनको भनाइ छ । उनले जनताको आवाज उठाउने मोर्चालाई प्रदेश, जिल्ला र पालिकास्तरसम्म विस्तार गरिने बताए । भ्रष्टाचारमा डुबेका र अपराधमा संलग्न रहेकालाई मोर्चाले अस्वीकार गर्ने नेपालको जिकिर छ ।
जसपा अध्यक्ष यादवले जनताको अधिकार प्रत्याभूत गर्ने कानुन बनाउन नसकिएको बताएका छन् । कुशासन, भ्रष्टाचार र राजनीतिक अस्थिरता बोकेर हिँड्नु परेको कारण सबै समुदायले प्राप्त उपलब्धिको लाभ लिन नसकिरहेको उनले बताए ।
नेकपाका महासचिव ‘विप्लव’ ले सबै अन्तरविरोधको हल गर्न बनेको समाजवादी मोर्चालाई देशको कुनाकुनामा पुर्याइने उद्घोष गरेका छन् ।
वर्तमान व्यवस्थाले मुलुक दलाल पूँजीपतिको जिम्मामा जाने खतरा रहेकाले त्यसलाई रोक्न आवश्यक रहेको र नेपाली विशेषतासहितको समाजवादमा जानुपर्ने विप्लव बताउँछन् । क्रान्तिका नायकहरूलाई अपराधीजस्तो गर्ने परिस्थिति बन्नुमा दलाल पूँजीवादको मुख्य हात रहेको उनको आरोप छ ।
Discussion about this post