इटहरी । धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा हातहतियार सहितको समूहले आक्रमण गरेको छ । घरमा प्रवेश गरी उक्त समूहले बेघाका भाइलाई खुकुरी प्रहार गरी घाइते बनाएको छ ।
धरान–१५, खोरिया बस्तीमा रहेको उनको घरमा पुगेर समूहले ढुंगामुढा समेत गरेको स्थानीयले बताए ।
उक्त समूहले उपप्रमुख बेघाका भाइ विष्णु बेघामाथि आक्रमण गरेको थियो । स्थानीयका अनुसार उनको देब्रे गालामा खुकुरी प्रहार भएको छ ।
समूहले घरमा आक्रमण गरेको खबर पाएपछि उपप्रमुख बेघाले प्रहरीलाई फोन गरेका थिए । बेघा धरान १२ स्थित नगरपालिकाको कार्यालयबाट धरान १५ स्थित निवासमा पुग्दासम्म प्रहरी नपुगेको बेघाले गुनासो गरेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले प्रहरी समयमै परिचालन गरिए पनि बाटोका कारणले ढिला पुगेको बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको जनाएका छन् ।
Discussion about this post