इटहरी । इटहरी उपमहानगर क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई अबदेखि दिउँसोको खाजा पकाएरै खुवाउनुपर्ने अनिवार्य नियम बनाइएको छ ।
उपमहानगरपालिकाले अबदेखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउनुपर्ने नियम बनाएको हो । ‘जङ्क फुड’ नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजाको टेण्डर जारी गरेको हो ।
उपमहानगरपालिकाले हरेक दिन फरक–फरक खाजाको मेनुसहित बोलपत्र आह्वान समेत गरिसकेको छ ।
उपमहानगरपालिका खरीद शाखाका अनुसार आइतबार प्रति विद्यार्थी २१० ग्राम तीन किसिमका फलफूल खुवाउनुपर्नेछ ।
यस्तै, सोमबार भुटेको अण्डा र चिउरा खुवाउनुपर्नेछ । साकाहारीका लागि भने मटरसँगै पनीर र चिउरा खुवाउनुपर्नेछ । मंगलबार गेडागुडीसँगै चिउरा खुवाउपर्नेछ । बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ ।
उपमहानगरपालिकाद्दारा सार्वजनिक गरिएको सूचनामा बिहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्नेछ । यस्तै, शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । साकाहारीका लागि मटर–पनीर र चिउरा खुवाउनुपर्नेछ ।
सार्वजनिक विद्यालयहरूमा बालबालिकालाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्दि गर्न दिवा खाजा कार्यक्रम कक्षा १ देखि ६ सम्मका विद्यार्थीका लागि खुवाइँदै आएको छ ।
यसअघि संघीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीको दिवा खाजाको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो । तर, विद्यालयमा समयमै रकम नआउँदा खाजा खुवाउन समस्या हुने गरेको विद्यालय प्रशासनले जनाउँदै आएको थियो ।
इटहरी उपमहानगरपालिकाले अब नयाँ मेनु सार्वजनिक गरेसँगै दिवा खाजा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा नौ करोड ३२ लाख ६ हजार २० रुपैयाँ ८८ पैसा खर्च हुने भएको जनाइएको छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले संघीय सरकारबाट प्राप्त १ करोड ९८ लाख रुपैयाँ ८४ हजार संघीय सरकारबाट प्राप्त अनुदान र बाँकी उपमहानगरपालिकाले दिवा खाजामा लगानी गर्ने बताए ।
इटहरी क्षेत्रमा दिवा खाजा खुवाउनुपर्ने ५० वटा शिक्षालय छन् । जसमा सामूदायिक, धार्मिक र बालविकास केन्द्र पर्दछन् । यी विद्यालयका आठ हजार २८ जना दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुने उपमहानगरपालिका खरीद शाखाका खेम श्रेष्ठले बताए ।
Discussion about this post