झापा । जिल्ला प्रहरी कार्यालय झापाले सुस्त मनस्थिति भएकी ३१ वर्षीया युवतीलाई करणी गरेको आरोपमा ५० वर्षीय छवि राजवंशीलाई आज पक्राउ गरेको छ । घटना हो कचनकवल गाउँपालिकाको । यो गाउँपालिका बलात्कृत युवतीको परिवारबाट जग्गा दिएर बलात्कार आरोपमा मुछिएका राजवंशीलाई जनप्रतिनिधिको संलग्नतामा उन्मुक्ति दिएको तथ्य खुलेसंगै जिल्ला प्रहरी कार्यालय झापाले आरोपितत ५० वर्षीयाा राजवंशीलाई पक्राउ गर्दै कारवाही प्रक्रिया अघि बढाएको छ ।
गाउँपालिकाको वडा नम्बर १ स्थित घेराबारीका राजवंशीले सोही ठाउँकी सुस्तमनस्थिति भएकी ३१ वर्षीया युवतीलाई घरमा एक्लै भएको मौका छोपी बलात्कार गर्दै गरेको स्थानीयले देखेपछि एक महिना अघि घटना सार्वजनिक भएको थियो । तर, बलात्कार आरोपितलाई कारबाहीको सिफारिस गर्नुको साटो जग्गा दिन लगाएर सुस्तमनस्थिति भएकी पीडित युवतीलाई राजवंशीको जिम्मा लगाइदिएका थिए ।
वडा सदस्य उग्रनारायण राजवंशीको रोहवरमा बसेको गाउँ समाजको बैठकले बलात्कार आरोपित राजवंशीलाई दाइजोस्वरुप पाँच कठ्ठा जग्गा पीडितका दाजु र भाईबाट दिलाएर पीडितलाई जिम्मा लगाएको थियो ।
गाउँ समाजले पीडित युवतीलाई जिम्मा लगाए पनि राजवंशीले आफ्नो घर भित्र्याएनन् । ती युवतीलाई उनकै घर फर्काइदिए । सोही विषयमा गाउँ समाजको बैठक पटकपटक बस्यो ।
समाजले पीडकलाई भन्दा पीडितलाई नै दबाब दिइरहे । पीडित युवतीको जिम्मा बुझेका राजवंशीले घरमा श्रीमती, छोेराछोरी, नाति नातिना भएका कारण युवतीलाई घर लगेनन् ।
गत साउन ३१ गते गरिएको कागजमा पीडक छवि राजवंशी, पीडित युवती र उनका दाजुलाई हस्ताक्षर गर्न लगाइएको छ भने साक्षीको रुपमा अनन्तलाल राजवंशी, पूजा राजवंशी र ऋतु राजवंशी बसेका छन् ।
पीडितका दाजुहरुले दिने भनेको जग्गा अहिले नै पास गरेर दिनुपर्ने र दाजुहरुले बस्ने घर पनि बनाइदिनुपर्ने दबाब राजवंशीले दिए ।
कचनकवल १ का वडा सदस्य उग्रनारायण राजवंशी, मेलमिलाप समितिका सदस्य उपेन्द्र राजवंशीलगायतले आफूलाई कानुनी कारबाहीका लागि प्रहरीकहाँ जान नदिएको पीडितका दाजुले बताए ।
उनले पहिलो बैठकका दिन गाउँ समाजले बहिनी पाल्नका लागि जबर्जस्ती पाँच कठ्ठा जग्गा दिन लगाएको बताए । आफूहरु अन्यायमा परिरहँदा जनप्रतिनिधि र गाउँ समाजले वडा कार्यालयमै छेकेर राखेको पीडितका दाजुको भनाइ छ ।
यसैबीच, प्रहरीले घटनामा संलग्न राजवंशीलाई आज दिउँसो पक्राउ परेको छ । पीडितका तर्फबाट जाहेरी परेपछि पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए ।
यसअघि राजनीतिक प्रभावमा परी प्रहरी चौकी घेराबारीले पीडितहरुले दिएको जाहेरी नलिएको स्थानीय समाजसेवी कर्ण राजवंशीले बताए । गाउँ समाजमै बसेर मिलाउन सक्ने देखेर आफूहरुले सो घटना मिलाएको वडा सदस्य उग्रनारायण राजवंशीले बताए ।
Discussion about this post