काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुझाउने भएको छ । संगठित अपराधमा अनुसन्धान गरिरहेको सीआईबीले ६० दिनभित्र मुद्दा बुझाउनुपर्ने समयसीमाका कारण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई रायसहितको प्रतिवेदन बुझाउन लागेको हो ।
पक्राउ परेका ३० र केहीलाई फरार सूचीमा राखेर हिजै (मंगलबार) बुझाउने भनिए पनि मिसिल तयार पार्न समय लागेको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । सीआईबीले अनुसन्धानलाई भने निरन्तरता दिने भएको छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मितिसम्ममा मुद्दा अदालतमा पुर्याइसक्नुपर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।
६ जना चिनियाँ र तीनजना चिनियाँ मूलका नागरिकसहित नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई पनि विपक्षी बनाएर अभियोजन लैजाने तयारी सीआईबीको छ । चिनियाँ नागरिकले क्रिप्टो करेन्सीबाट सुन भुक्तानी दिएको देखिएकाले बैंकिङ कसुरमा पनि मुद्दाका लागि सिफरिस गर्ने सीआईबीको तयारी छ । ६० पटक सामान ल्याएको समूहले करिब ४ अर्बको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।
उक्त सुन तस्करी प्रकरणमा अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सुम्पेको थियो । ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम भएको थियो ।
Discussion about this post