धरान । धरान उपमहानगरका उपमेयर अइन्द्रबिक्रम बेघाको घरमा आक्रमण गरेको भनिएको घटनामा अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
घटनाका सम्बन्धमा ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी नवीनकृष्ण भण्डारीले बताए ।
नियन्त्रणमा लिइएकाहरुमा उपमेयर बेघाका कान्छा भाई बिष्णु बेघा पनि छन् । प्रहरीका अनुसार उनी पक्षका ३ जना र अर्को समूहका ५ जनालाई नियन्त्रणमा लिइएको छ ।
आक्रमणमा घाइते भएका सन्देश राईले बेघाको नाम लिएपछि अनुसन्धानको लागि नियन्त्रणमा लिइएको धरानका डिएसपी नवराज मल्लले बताए ।
मंगलबार शुरुमा बिष्णु बेघाको समूहले आक्रमण गरेको र त्यसपछि अर्को समूहले लखेट्दै गएर उपमेयर बेघाको घरसम्म ढुंगामुढा गर्न पुगेको भन्ने देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनामा उपमेयर बेघाका भाई बिष्णुको अनुहार र टाउकोमा सामान्य चोट छ । अर्को समूहका सन्देशको कम्मरमा धारिलो हतियारको गहिरो चोट लागेको छ ।
प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ ।
Discussion about this post