विराटनगर । मोरङको उर्लाबारीमा यात्रु बसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–६ मा बुधबार बिहान दुर्घटना भएको हो । प्रदेश १–०१–००१ ख ४११२ नम्बरको बसको ठक्करबाट पैदल हिँडिरहेका अन्दाजी ६५/७० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ ।
बसले बिहान ५ः३५ बजेतिर ठक्कर दिँदा गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि उर्लाबारीको मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । शव सोही अस्पतालमा राखिएको छ ।
प्रहरीले मृतकको पहिचानको प्रयास भइरहेको जनाएको छ । डीएसपी दाहालले बस र चालक उर्लाबारी–२ का ५३ वर्षीय लोकबहादुर बोहोरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको बताए ।
Discussion about this post