काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण दलमा सहभागी हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पान प्रतिनिधि मण्डल चीन प्रस्थान गरेको छ । असोज ६ देखि १३ गतेसम्म हुने प्रधानमन्त्रीको चीन भ्रमणमा इप्पानबाट अध्यक्ष गणेश कार्की र उपाध्यक्ष रामप्रसाद आचार्य चीन प्रस्थान गरेका हुन् ।
नेपालको ऊर्जा क्षेत्रमा ठुलो लगानीको खाँचो रहेकोले चीन भ्रमणका क्रममा इप्पानले चिनियाँ लगानीकर्तालाई नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गर्ने अध्यक्ष कार्कीले बताए ।
नेपाल र चीन बीच विद्युत् व्यापारका लागि अन्तरदेशिय प्रसारण लाइन निर्माणलाई जोड दिन इप्पानले प्रधानमन्त्रीलाई आग्रह गर्ने छ । निजी क्षेत्रबाट चीनमा विद्युत् व्यापारका लागि पनि छलफल हुने अध्यक्ष कार्कीले बताए ।
‘नेपाल सरकारले १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य सहित ऊर्जा विकास मार्ग चित्र २०३५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो क्षमतामा विद्युत् उत्पादन गर्न धेरै नै ठुलो लगानीको खाँचो पर्ने छ । त्यसैले इप्पानले नेपालमा चिनियाँ सहित उनीहरुको सम्पर्कमार्फत आउन सक्ने सम्भावित लगानीका लागि पनि चिनियाँ पक्षसँग छलफल गर्ने छ ।’ अध्यक्ष कार्कीले भने ।
Discussion about this post