काठमाडौं । क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताएका छन्। ‘सीबीसी न्युज’ सँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले भनेका छन्, ‘मलाई मनपर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उनीहरूले आफ्ना नागरिकलाई मद्दत गर्न चाहन्छन्। मलाई पूरा विश्वास छ, उनीहरूले मित्रता निभाउनका लागि साझा आधार फेला पार्नेछन्।’
ब्लेअरले कूटनीतिक विवादले भारतीय–क्यानेडेली नागरिकमा पार्ने प्रभावबारे जानकार रहेकोसमेत बताए।
क्यानाडामा भएको खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत साता आरोप लगाएपछि तनाव चर्किएको छ।
गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित पार्किङ क्षेत्रमा रहेको गुरुद्वाराबाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो।
क्यानाडाले भारतलाई निज्जर मृत्युको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।
‘मैले अनुसन्धानमा धेरै जोड दिएको छु। यसका कारण विश्वसनीय गुप्तचरभन्दा वास्तवमा के भएको थियो भन्ने बलियो प्रमाणमा जान सक्षम हुनेछौं’ रक्षामन्त्री ब्लेअरले भने।
यसैबीच, भारतले निज्जरको हत्यासँग भारत सरकारलाई जोड्ने कुनै पनि प्रयासको खण्डन गरेको छ।
भारतीय विदेश मन्त्रालयले ‘आतंकवादी, अतिवादी र संगठित अपराधका लागि सुरक्षित आश्रयस्थल’ र ‘बढ्दो प्रतिष्ठा’ का रूपमा पनि क्यानडालाई उल्लेख गरेको छ।
‘हाम्रा सहयोगी र भारतलाई एउटा मात्र अनुरोध गरेका छौं कि उनीहरूले अनुसन्धानमा पूर्ण सहयोग गरुन्, किनभने यसको परिणाम धेरै महत्त्वपूर्ण छ,’ उनले भने।
Discussion about this post