काठमाडौं । १९औं एसियाडअन्तर्गत पदकको आशा गरिएको ई-स्पोर्ट्सअन्तर्गत पिस एलिट एसियन गेम्स भर्सन पब्जीको दोस्रो चरणमा आज नेपालले आफ्नो चुनौती प्रस्तुत गर्दै छ ।
हाङचोउ ई-स्पोर्ट्स सेन्टरमा खेल नेपाली समयअनुसार पौने १२ बजे सुरु हुँदै छ । दोस्रो चरणमा नेपालले समूहमा प्रतिस्पर्धा गर्नेछ र त्यहाँबाट उत्कृष्ट ८ टिम अर्को चरणमा पुग्नेछन् । नेपाल सम्मिलित समूहमा प्यालेस्टाइन, हङकङ र साउदी अरब छन् ।
बिहीबार भएको समूह-सीको प्रारम्भिक चरणमा नेपाल दोस्रो हुँदै अघिल्लो चरणमा प्रवेश गरेको थियो । उक्त समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए । यस समूहमा दक्षिण कोरिया शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो भएको थियो ।
बिहीबार भएका ई- स्पोर्ट्सका अन्य विधामा भने नेपालले खराब प्रदर्शन गरेको थियो ।
बिहीबारै सम्पन्न अन्य खेलमा पुरुष टिमले ब्याडमिन्टनमा मंगोलियालाई ३-१ ले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेको थियो भने महिला टोली मालदिभ्ससँग पराजित भयो । यसबाहेक गल्फ, फेन्सिङ, स्क्वास पौडी, टेबलटेनिस र महिला फुटबलमा नेपाली खेलाडी पराजित भएका थिए ।
जारी एसियाडमा अहिलेसम्म पदकको खाता खोल्न नसकेको नेपालले आज ई-स्पोर्ट्ससहित गल्फ, ट्रायथलन, ह्यान्डबल, पौडी, थ्री बाइ थ्री बास्केटबल, बक्सिङ, ब्याडमिन्टन र एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दै छ ।
Discussion about this post