खेमराज सापकोटा
इटहरी
इटहरी ५ मा कस्मेटिक व्यवसाय सञ्चालन गरिरहेकी कल्पना खनालको केही वर्षअघि दसैँको समयमा राम्रो व्यापार हुन्थ्यो । ग्राहकको चहलपहल बढ्दो हुन्थ्यो । तर, पछिल्लो वर्षमा भने आर्थिक मन्दी र देशको अवस्थाका कारण व्यापार खस्कँदो रहेको छ । अहिले दसैँ नजिकिदैँ गएपनि व्यापार चलमलाउनसकेको छैन । उनी भन्छिन्, ‘दसैँ नजिकिइसक्दा समेत व्यवसायले ‘प्रोगेस’ लिन सकिरहेको छैन । मेरो मात्रै हैन समग्र इटहरीकै अवस्था उस्तै होला भनेर चित्त बुझाउँछु ।’
चाडपर्वमा व्यवसाय राम्रो हुने, रमाउने समयका रूपमा पनि लिने गरिन्छ । नयाँ कपडा, नयाँ चाहानाहरूको प्रयोग गर्ने चाडपर्वको समयमा मानिसको आदत नै हो । तर, इटहरीमै उपहारलगायत कस्मेटिक व्यवसाय सञ्चालन गरेर दैनिक २०–२५ हजारको व्यापार गर्ने दुर्गाप्रसाद कोइरालाका अनुसार अहिले दैनिक व्यापारको दर दुई हजार पाँच सय पनि छैन । दसैँ तिहार नजिकिएसँगै फस्टाउनुपर्ने व्यवसाय नै कतिपय बन्द हुँदा धिमा गतिमा रहेका छन् ।
इटहरीको मुटुमै रहेका हङकङ मार्केट, विशाल बजार, आरसिटि मार्केट, आकेश कलेक्सन लगायतका मार्केटमा पनि पहिलेजस्तो चहलपहल देखिँदैन । इटहरी १६ म रहेको भाटभटेनी सुपर मार्केटमा चहलपहलका साथै पहिलेको तुलनामा व्यापारमा समेत कमी आएको बताइन्छ । हङकङ मार्केटमा कपडा व्यवसाय गरिरहेका तारानिधी गौतम पनि व्यवसाय चौपट अवस्थामा रहेको बताउँछन् । ‘पहिलेजस्तो बजारै छैन, अर्कोतर्फ इटहरीमा अश्वभाविक रूपमा बढेको करले व्यवसायीलाई समस्या उत्पन्न भएको छ ।’ उनले भने ।
पूर्वकै व्यापारिक हबको रूपमा चिनिने इटहरीको व्यापार अझै जुर्मुराउन सकिरहेको छैन । घर निर्माणको कार्यमा कमी हुँदा हार्डवेयर व्यवसायीहरू सङ्कटग्रस्त अवस्थामा रहेको सुनाउँछन् । बजार चलायमान नहुँदा यहाँका होटेल रेस्टुरेन्टदेखि गार्मेन्ट व्यवसायीसम्म चिन्तित बनेको बताउँछन् ।
मानिसलाई अत्यावश्यक पर्ने खाद्यान्न किराना पसल भने सन्तोषजनक अवस्थामै छन् । किराना व्यवसाय सञ्चालन गरिरहेका भरत अधिकारी भन्छन्, ‘अब किरानामा चैँ त्यति चिन्ता गरिहाल्नुपर्ने अवस्था छैन । तरपनि आर्थिक मन्दीले बजार डामाडोलकै अवस्थामा रहेको छ ।’ बजारको अवस्था हेर्दा चिन्ता लाग्ने गरेको उनको भनाइ छ ।
यता जानकारहरू मुख्य रूपमा लगानी भएको भएको रकम अचल रूपमा बसेकाले अहिलेको अवस्थाका सिर्जना भएको बताउँछन् । अर्थशास्त्रका अध्येता, प्राध्यापक उमेश खड्का भन्छन्, ‘हाम्रो मुद्रा शेयर बजार र घरजग्गाको लगानीमा अचल रूपमा बस्यो, त्यसो भएपछि बजार चलायमान पनि हुन सकेन ।’ उनले आर्थिक क्रियाकलापलाई बढवा दिनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने समेत बताए । खड्का भन्छन्, ‘सरकारले यसलाई लुज मनिटरि पोलेसी आदत गरेर मुद्राको पूर्तिको प्रवाहलाई वृद्धि गर्न सकिन्छ । अर्कोतर्फ उत्पादन भएको सामग्री निर्यात गर्ने वातारण मिल्ने हो भने बजार चलायमान हुन थाल्दछ ।’
खासगरी इटहरीको व्यापारलाई उदाहरणको रूपमा लिन सकिन्छ । कोसी प्रदेशको राजधानी विराटनगरदेखि पूर्वको हब इटहरी, धरान, बिर्तामोड, दमकलगायतका स्थानमासमेत व्यापारको अवस्था दयनीय रहेको व्यापारीहरू बताउँछन् ।
व्यापारको अवस्था सुधारोन्मुख नहुँदा व्यवसायीहरू एकपछि अर्को गर्दै व्यापार बन्द हुने क्रम बढ्दो छ । अहिले इटहरीमा नाम चलेका होटेल, रेस्टुरेन्ट, गार्मेन्ट, हार्डवेयर तथा मेसीनरी सामग्रीहरू लगायतका व्यवसाय कतिपय बन्द भइसकेका छन् । अधिकांश ‘सटर भाडामा’, ‘घर खाली छ’, ‘पसल बिक्रीमा’ लगायतका पोस्टरहरू देख्न सकिन्छ । सहरको यस्तो विकराल अवस्थालाई समाधान गर्नका लागि राज्यले विशेष ध्यान दिन आवश्यक रहेको जानकारहरू बताउँछन् ।
Discussion about this post