झापा । झापाको दमकस्थित एक सहकारीका अध्यक्षले समाचारको बिषयलाई लिएर झापाका अग्रज पत्रकारलाई आफ्नै कार्यालयमा बन्धक बनाइ धम्क्याएको घटना सार्वजनिक भएको छ ।
दमकमा रहेको फाल्गुनन्द सहकारी संस्थाका अध्यक्ष संकल्प लिङ्देनले पूर्वसन्देश दैनिकका प्रधानसम्पादक तथा प्रकाशक दाहाललाई पटक–पटक धम्क्याएको बताइएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य दाहालसँगै लिङ्देनले महासंघ मोरङका सदस्य घनश्याम भण्डारीलाई पनि प्रकाशित समाचारको विषयमा पटक–पटक धम्की दिएका हुन् ।
उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ झापाले ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कार्वाही गर्न माग गरेको छ । लिङ्देनले असोज १३ गते पूर्वसन्देशमा प्रकाशित ‘बचतकर्ताको रकम गायव !’ शीर्षकको समाचारको विषयमा पत्रकारलाई धम्की दिएका हुन् ।
पत्रकार दाहाललाई धम्क्याउँदै सहकारीका अध्यक्ष लिङ्देनले सहकारीको दमकस्थित कार्यालयमा बोलाएर ‘तपाईं अहिले अपहरणमा पर्नुभएको छ, रिपोर्टरलाई यहाँ उपस्थित गराउनु, यो नमिलाएसम्म यहाँबाट जान पाउनुहुन्न’ भन्दै मानसिक तनाव दिएको घटनाप्रति पत्रकार महासंघ झापा शाखाले खेद प्रकट गरेको छ । पीडित पत्रकारका अनुसार लिङ्देनले फोन र म्यासेजमार्फत पनि पटक–पटक धम्की दिएका छन् । महासंघ झापाका सचिव डिकेश लामाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ– ‘प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो भए कानूनी उपचारमा जानसकिने विकल्प छ ।
पत्रकारलाई मानसिक तनाब दिँदै अपहरणमा समेत परेको भनी धम्क्याएको घटना अत्यन्त निन्दनीय भएको भन्दै प्रेस स्वतन्त्रता र कानून विपरीतको कार्यप्रति महासंघले आपत्ति प्रकट गरेको छ । स्वतन्त्र पत्रकारिता माथिको ज्यादतीमा संलग्नलाई कानूनी दायरामा ल्याएर पीडित पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा विशेष ध्यान दिन महासंघले सम्बन्धित निकाय समक्ष माग गरेको छ ।
Discussion about this post