झापा । अरिंगालले टोकेर झापामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अरिंगालले टोकेर बाह्रदशी गाउँपालिका–५ नवकिरण टोल निवासी अन्दाजी ६० वर्षीया रामप्यारी भुर्तेलको मृत्यु भएको हो । अरिंगालले टोकेर मृतककी छोरी लक्ष्मी र ७ वर्षीय नाति घाइते भएका छन् ।
बिहीबारसाँझ ५ बजे घर नजिकै घाँस काट्न जाँदा रामप्यारीमाथि अरिंगालको पुरै गोला खनिएको थियो । घाइते भएकी उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड लगिएकोमा उनको उपचारका क्रममा बिहीबार राति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार चिलले अरिंगालको गोला हानेको बेला उनी त्यही ठाउँमा घाँस काट्न पुगेकी थिइन् । घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूको घरमै उपचार भइरहेको बाह्रदशी–५ नम्बरका वडासदस्य जय तिम्सिनाले जानकारी दिए ।
Discussion about this post