काठमाडौं– नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैं सुरु हुन दुई साता पनि बाँकी छैन । वर्षभरिमा सबैभन्दा बढी बजार चलायमान हुने समय यही हो । दशैंमा नयाँ कपडा तथा अन्य सामान किन्ने नेपालीहरुको प्रचलन नै छ । त्यसैले अन्य समयको भन्दा दशैंको समयमा बजारमा चहलपहल बढ्नुपर्ने हो । तर, आर्थिक मन्दीले दशैं बजार प्रभावित बनेको छ ।
उपभोक्ता महँगी बढेको गुनासो गरिरहेका छन् भने व्यापारी व्यापार नभएर निराश छन् ।
विगतका वर्षहरुमा दशैंको एक महिना अघिदेखि नै बजारमा चहलपहल बढ्थ्यो । यो वर्ष भने दशैं संघारमै आइसक्दा पनि बजार सुनसान छ । नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधान भन्छन्, ‘दशैं आउन केही दिनमात्र बाँकी छ । तर, बजारमा ग्राहक छैनन् ।
व्यापारीको दिन ग्राहक कुरेरै बितिरहेको छ ।’
विगतका दशैंको अनुभव सुनाउँदै उनले थपे, ‘महिना दिन अघिदेखि नै असन, इन्द्रचोकमा दशैं किनमेल गर्नेको घुइँचो हुन्थ्यो । यसपालित दशैं सुरु हुन दुई साता पनि बाँकी छैन तर बजार सुनसान छ । व्यापार नहुँदा व्यवसायी चरम निराशामा छन् ।’
उनका अनुसार विगतमा सामान्य अवस्थामा हुने जति पनि व्यापार अहिले दशैंको मुखमा भएको छैन । खुला सीमाबाट धेरै चोरीपैठारी भएर आउने कपडाका कारण स्थानीय उत्पादनको व्यापार निकै घटेको उनको गुनासो छ ।
विगतका दशैंको तुलनामा यो वर्ष ८० प्रतिशत कम व्यापार भएको अध्यक्ष प्रधानले बताए । जुत्ता–चप्पल व्यापारको अवस्था पनि उस्तै छ ।
जुत्ता उत्पादन संघ नेपालका महासचिव ज्ञानेन्द्रप्रसाद दाहालले विगतका वर्षको तुलनामा ३० प्रतिशत पनि व्यापार नभएको बताए । दाहालले भने, ‘दशैंका लागि भनेर सधैं थोक व्यवसायीबाट एक महिनाअघि जुत्ता चप्पलको बुकिङ आउने गथ्र्यो । यस पटक त बुकिङ नै छैन । वर्षभरिको ४० प्रतिशत व्यापार दशैंको समयमा हुने गरेकोमा यो वर्ष व्यापार निराशाजनक छ ।’
मोबाइल व्यापारको अवस्था पनि फरक छैन । मोबाइल फोन इम्पोटर्स एसोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवालले भने, ‘दशैं आउन केही दिनमात्र छ, तर मोबाइल व्यापार सामान्य समयको जति पनि छैन । यो ७०–८० प्रतिशत व्यापार घटेको छ । विगतमा दशैंको समयमा नयाँ मोबाइल खरिद गर्न पसलमा मानिसहरुको भिड हुन्थ्यो ।
यसपटक दिनमा दुई–चार जना पनि आउँदैनन् । फूलपातीपछि केही हुन्छ कि भन्ने आशा छ ।’ व्यापार बढाउन विभिन्न अफर ल्याए पनि उपभोक्ताको क्रयशक्ति कम भएका कारण बजारमा चहलपहल बढ्न नसकेको उनले बताए ।
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाको अनुभव भने अलि फरक छ । थापा भन्छन्, ‘दुई वर्षअघि महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण थलिएको अर्थतन्त्रले हाम्रो व्यवसाय ठप्प थियो । एक किसिमको निराशा छाएको थियो । तर, यसपटक भने केही सुधार आएको छ ।
अघिल्लो वर्षको दशैंसँग तुलना गर्दा यस पटक सवारीसाधन खरिदका लागि बुकिङ बढेको छ । यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । बैंकले पनि केही सहज बनाइदिएका छन् । पछिल्लो समय विद्युतीय सवारीमा आकर्षण बढेको छ । भदौमा भएको नाडा अटो शोले यो क्षेत्रको व्यवसायमा सुधार आएको छ ।’
Discussion about this post