झापा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले युथ एकेडेमी सञ्चालन गर्न लागेको छ । युवाको नेतृत्व र व्यक्तित्व विकाससंगै खेलकुद, कला, साहित्य उद्यमशीलता एवम् सिप विकासका क्षेत्रमा लगानी गर्ने उद्देश्यले युथ एकेडेमीको अवधारणा अघि सारेको हो । सहकारी क्षेत्रमा पनि युवाको आकर्षणलाई रचनात्मक र प्रभावकारी बनाउन युथ एकेडेमीको अवधारणा अघि सारिएको सहकारीका कार्यकारी निर्देशक महेन्द्र कुमार गिरीले जानकारी दिए । गतआर्थिक वर्षको प्रगति प्रतिवेदन इकाई साधारणसभामार्फत सार्वजनिक गर्दै सहारा साकोसले आगामी आर्थिक वर्षको प्रस्तावित नीति र कार्यक्रम पेश गरेको छ ।
विगतका लोकप्रिय कार्यक्रमहरुको निरन्तरतासंगै सहारा साकोसले शैक्षिक छात्रवृत्तिकोष २०८० स्थापना गर्ने भएको छ । कोषमा शुरुवाती लागत ५ करोड रहने र क्रमशः थप गर्दै लैजाने बताइएको छ । संस्थाका गरीव तथा विपन्न सदस्यका सन्ततिको उच्च शिक्षा अध्ययन गर्न यो कोषले सहयोग गर्ने छ । सहारा साकोसले असोज २१ गतेदेखि असोज २७ गतेसम्म ६ वटै जिल्लाका ८० वटा सेवा केन्द्र अन्तर्गत रहने सवैसदस्यको उपस्थितिमा इकाई साधारणसभाको आयोजना गरिरहेको छ ।
इकाई साधारण सभामार्फत माइन्यूट प्रमाणिकरणका लागि ३१ जना प्रतिनिधि छनौट हुनेछन् । यस क्रममा बिर्तामोडस्थित अग्रसेन भवनमा आइतवार इकाई साधारणसभा सम्पन्न भएको हो । सहारा साकोस महिला उपाध्यक्ष पवित्रा लिम्बूको अध्यक्षता र बिर्तामोड–५का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्यमा इकाई सभा भएको हो । संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले प्रस्तावित नीति तथा कार्यक्रम पेश गरेका थिए । कार्यक्रमको सञ्चालन मुकुन्द उप्रेतीले गरेका थिए ।
Discussion about this post