श्रीमान् प्रधानमन्त्री ज्यु
नेपाल सरकार
कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट स्नातक सकिन लागेका विद्यार्थीहरू ११४ जना अहिले हामी इजरायल र हमासको द्वन्द्व चपेटामा फसेका छौँ । ११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्कीदै गइराखेको छ । हाम्रो आत्मबल घट्दै गइराखेको छ, हामी मानसिक तनावमा पुग्न आँटिसकेका छौँ । अब धेरै सोच्ने परिस्थिति पनि बाँकी रहेन ।
आकाशमा चरा उडेको देखेको हामी, आज मिसाइल र फाइटर पेलेन देख्नुपरेको छ । तिहारमा पटका खुसीका साथ रमाउँदै हेरेका हामी आज आफू अगाडि बन्दुक पड्किराखेको देखेर त्रसित छौँ । बङ्करमा लुक्यो भन्ने बङ्कर भित्र नै छिरेर आक्रमण भइराखेको छ । हाम्रा सुदूरपश्चिम विश्वविद्यालयका सहपाठी साथीको निधनले छाती चिरिएको छन् । हामी स्तब्ध छौ । हमलामा पर्यो भने गोली निल्नेको अर्को विकल्प केही पनि छैन ।
लुकेर बसेका हामीहरू खाना र पानी कै समस्यामा जुध्नुपरेको छ । नखाऔं भने भोक र प्यास लाग्छ खाउ भने बाहिर शौचालय जान डर लाग्छ । आक्रमण हावा, जमिन, जमिनमुनि सबैतिर पुगिसकेको भइराखेको छ । विभिन्न देशको समर्थनले गर्दा युद्ध यतिकै रोकिने अवस्था पनि छैन । यो युद्ध लामो छ । हामीलाई भरखरै हाम्रो देश फर्कन मन छ ।
आदरणीय प्रधानमन्त्री ज्यु,
अबको हाम्रो आशा पनि तपाई नै हो । भरोसा पनि तपाई नै हो । यो दुई देशको चपेटामा परेर ज्यान गुमाउन मन छैन । हामीलाई हाम्रो देश आउने वातावरण मिलाईदिनुहोस हामी देशमा नै रमाउने छौं ।
हामी नेपालको तीन विश्वविद्यालयबाट यहाँ छौँ ।
१) कृषि तथा वन विज्ञान विश्वविद्यालय ।
२) त्रिभुवन विश्वविद्यालय
३) सुदूरपश्चिम विश्वविद्यालय
सगसगै यहाँ अन्य विद्यार्थीहरू र नेपाली नागरिक हुनुहुन्छ छिटो भन्दा छिटो नेपालको सरकार र प्रधानमन्त्री को प्रत्याभूति तपाईँले अवश्य गराउनुहुनेछ यो हाम्रो तपाईँप्रतिको विश्वास हो । यही विश्वासमा नै हाम्रो सास अडिएको छ ।
युद्धको चपेटामा परेको नेपाली
सुरज भण्डारी
Discussion about this post