विराटनगर / नजिकिँदो चाडपर्वलाई लक्षित गरेर भारतसँग सीमा जोडिएका कोसी प्रदेशका विभिन्न स्थानमा सुरक्षा सक्रियता बढाइएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङ, सुनसरी, झापालगायतका विभिन्न स्थानमा सुरक्षा तैनाथी बढाइएको हो ।
सीमा क्षेत्रलाई लक्षित गरेर अहिले नेपाल र सशस्त्र प्रहरीले संयुक्त रूपमा कारबाही सुरु गरेका छन् । दुवै निकायले संयुक्त गस्तीसमेत गरिरहेका छन् । दुई देशीय सिमानामा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ । सबै ठाउँमा निगरानी बढाइएको छ ।
दसैं, तिहार, छठलगायतका चाडपर्वमा हुनसक्ने चोरी निकासी र अपराधिक घटना नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय भइरहेको सुरक्षा स्रोतले बतायो । कोसी प्रदेशका नेपाल प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेललगायतका सुरक्षा अधिकारीले सीमा क्षेत्रमै पुगेर त्यहाँ कार्यरत सुरक्षाकर्मीलाई चोरी निकासी एवं सीमा अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्न संयुक्त निर्देशन दिन थालेका छन् ।
उनीहरुले सिमावर्ती युनिटका सुरक्षा अधिकारीसँग वर्तमान सुरक्षा अवस्थाका बारेमा छलफल गर्दै अवैध भन्सार चोरी निकासी र अपराध नियन्त्रणमा आपसी समन्वय एवं सहकार्य गर्न निर्देशन दिने गरेका हुन् । चाडपर्वका बेला सीमा क्षेत्रबाट अवैध चोरी तस्करी बढ्ने गरेको छ । त्यसलाई रोक्न नेपाल र सशस्त्रका सुरक्षा अधिकारीबीचमा आवश्यक अन्तरक्रिया एवं छलफलसमेत थालिएको छ ।
अन्तरक्रियामा सुरक्षा अधिकारीहरुले जिल्लागत वस्तुस्थितिका बारेमा डीआईजीद्ववयलाई जानकारी गराउने गरेका छन् । डीआईजीद्ववय बास्तोला र पोखरेलले चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्था मजवुत बनाउन पनि निर्देशन दिइरहेका छन् । ‘सुरक्षित र मर्यादित हिसाबले नेपालीहरुको महान पर्वलाई मनाउने वातावरण तयार पार्नुपर्छ ।
सीमा क्षेत्रबाट हुने अवैध धन्दा रोक्नुपर्छ,’ निर्देशन दिँदै उनीहरुले भनेका छन्, ‘सुरक्षामा कुनै कमजोरी आउन दिन हुँदैन । गलत कामलाई प्रशय दिनु सुरक्षा निकायको मर्यादाविपरीत हो ।’
चाडपर्वका नाममा हुने अवैध धन्दालाई प्रशय दिने सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत उनीहरुले दिएका छन् । अग्रिम सूचना संकलन गरेर सीमा क्षेत्रमा हुनसक्ने सम्भावित अपराध रोक्न सुरक्षा निकाय सक्रिय हुनुपर्नेमा उनीहरुको जोड छ । चाडपर्वमा अपराधिक क्रियाकलाप बढ्न नदिन सुरक्षाकर्मी चनाखो हुनपर्ने उनीहरु बताउँछन् ।
डीआईजी पोखरेलले सीमा क्षेत्रमा सशस्त्रको सक्रियता बढाएर सुरक्षा अवस्था मजवुत बनाइएको बताए । सीमामा कडा सुरक्षा प्रदान गर्न नेपाल प्रहरी र भारतीय सुरक्षाकर्मीसँग समेत समन्वय गरिएको उनको भनाइ छ । पोखरेलका अनुसार चाडपर्वलाई लक्षित गरेर सीमा क्षेत्रबाट हुने अवैध आयात एवं निर्यात रोक्न विशेष टोली परिचालन गरेर निगरानी बढाउँदै कडाइ गर्ने काम भइरहेको छ ।
डीआईजी बास्तोला सीमा क्षेत्रबाट हुनसक्ने लागूऔषध, हतियार, मदिरालगायतको अवैध धन्दा तथा विभिन्न अपराधिक क्रियाकलाप रोक्न सशस्त्र प्रहरीसँग समन्वय भइरहेको बताउँछन् । लत्ताकपडा, दैनिक उपभोग्यवस्तुलगायतको तस्करी रोक्न सुरक्षाकर्मीले हरदम प्रयास गरिरहेको उनको भनाइ छ । चाडपर्वका समयमा हुनसक्ने लुटपाट, चोरीलगायतका घटना रोक्न तथा त्यस्ता अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरी चनाखो भएर लागेको बास्तोला बताउँछन् ।
भारतसँगको खुला सीमाका कारण चोरी तस्करी एवं दुई नम्बरी धन्दा नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सुरक्षा विश्लेषण छ । भारतबाट नेपाल र नेपालबाट भारततिर भइरहेका तस्करी नियन्त्रणलाई शून्यमा झार्न मिहीनेत गरिरहेको दाबी सुरक्षाकर्मीको छ ।
‘चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन सबै क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर निगरानी बढाइएको छ,’ बास्तोला भन्छन्, ‘कुनै कमजोरी हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।’ सुरक्षा निकायहरुबीचको समन्वयमा सीमा क्षेत्रलाई विशेष निगरानीमा राख्दा सीमा अपराध हुन नपाउने उनको बुझाइ छ । उनका अनुसार अवैध धन्दा र अपराधिक घटना नियन्त्रणमा लिन सीमा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।
(फोटो क्याप्सन ः झापामा आयोजित नेपाल र सशस्त्र प्रहरी सम्मिलित संयुक्त अन्तरक्रियामा सहभागी सुरक्षा अधिकारी ।)
Discussion about this post