धरान, २२ असोज । लामो समयदेखी रोकिएको बढुवा प्रक्रिया सुरु गर्ने सहमती कार्यन्वयन नभएको भन्दै विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरु काम छोडेर आन्दोलन गर्न काठमाडौ गएका छन् ।
शिक्षकहरु काठमाडौ गएपछि प्रतिष्ठानमा उपचारका लागी पुगेका विरामीको बिचल्ली भएको छ । यस अघि नै आन्दोलित भएका शिक्षकहरुसँग प्रतिष्ठानले गत भदौ २४ गते एक महिना भित्र बढुवा प्रक्रिया सुरु गर्ने सहमती गरेको थियो । तर सहमती कार्यान्वयन हुने अवस्था नदेखिएको भन्दै शिक्षक कल्याण समाजको नेतृत्वमा सिनियर रेजिडेन्ट, एसिसटेन्ट प्रोफेसर, एसोसियट प्रोफेसर र एडिसन प्रोफेसर गरी ५५ जना शिक्षकहरु काठमार्डौ प्रस्थान गरेका हुन् ।
शिक्षकहरुले सम्पूर्ण काम छाडेर प्रतिष्ठानका कुलपती र सह–कुलपतीलाई भेट्न काठमार्डौ प्रस्थान गरेपछि अस्पतालको उपचार सेवा प्रभावित बनेको छ । उपचारका लागी प्रतिष्ठान पुगेका विरामीहरु चिकित्सकले काम छोडेर आन्दोलन गर्न काठमाडौ गएपछि विचल्लीमा परेका छन् । चिकित्सकहरुको आन्दोलनका कारण उपचार सेवामा धेरै दुःख पाएको सेवाग्राहीहरुको दुःखेसो छ । आन्दोलनका कारण प्रतिष्ठानको बिल काउण्टर २ घण्टा ढिलो गरी खुलेको थियो । ‘विपि प्रतिष्ठानमा जहिल्यै आन्दोलन हुने र हामीले चाही कहिल्यै सर्वसुलभ रुपमा सेवा नपाउने किन ? धरान–१६ का रोशन दाहालले बताए ।
सेवा सुविधा तथा वढुवा प्रक्रिया सुरु गर्न प्रतिष्ठानसँगको सहमती कार्यन्वयन गर्न प्रतिष्ठान तयार नभए पछि प्रतिष्ठानका चिकित्सकहरु राजिनामा बोकेर उपकुलपति र सह कुलपतिलार्ई बुझाउन काठमाडौ गएका छन् । उनिहरुले २३ गते सम्म पनि माग पुरा नभए उपकुलपति र सह कुलपति लाई राजिनामा बुझाउने समाजले जनाएको छ । समाजका अधयक्ष डा सेराज अहमद खानले ‘नियमित रुपमा हुनपर्ने बढुवा सातवर्षदेखि रोकिएको छ, जसले गर्दा हामीलाई सबैभन्दा बढी मार परेको छ ।
सम्पूर्ण फ्याकल्टी सहकुलपति तथा स्वास्थ्यमन्त्री साथै कुलपति रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन काठमाडौ प्रस्थान गरेका शिक्षकहरुले २३ असोजदेखि २५ सम्म स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीको कार्यालयमा धर्ना दिने र २६ असोजसम्ममा आन्तरिक बढुवाका लागि रोकिएको अन्तर्वार्ता सुरु नगरे सामूहिक राजिनामा दिने कार्यक्रम रहेको समाजका अध्यक्ष खानले बताए ।
प्रतिष्ठानमा वर्षौंदेखि बढुवाको प्रक्रिया अवरुद्ध हुँदा कतिपय शिक्षकहरुको सात वर्षदेखि बढुवा हुन नसक्दा त्यसकै कारण एकातिर योग्य शिक्षकहरुको पलायन बढ्दो छ । कतिपय विभागहरुमा एक जना पनि प्रोफेसर नहुँदा पठनपाठनमा समेत असर परिरहेको छ ।
प्रतिष्ठानका कायममुकायम उपकुलपती प्राडा प्रल्हाद कार्कीले बढुवा प्रक्रिया मिलाउनकै लागी मन्त्रालयमै बसेर काम गरिरहेको बताए । उनले भने ‘उहाँहरुले आन्दोलन गर्नुपर्ने अवस्था थिएन ।
Discussion about this post