विराटनगर/ विराटनगर महानगरपालिका–९ मा रहेको ग्रीनक्रस अस्पतालबाट शिशु बिक्री गरिएको घटनासँग सम्बन्धित मुद्दामा ३ जना कारागार चलान भएका छन् । जिल्ला अदालत मोरङले बुधबार चिकित्सकसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले अन्य ३ जनालाई धरौटीमा छाडेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । शिशु बिक्री घटनामा विराटनगर–२ तीनपैनी घर भएका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोविन्द राई र डा. तपेश्वरसँग शिशु खरिद गरेर लैजाने मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका ३० वर्षीय सूर्यनारायण राजवंशीलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।
आदेशपछि तीनै जनालाई जिल्ला कारागार मोरङ चलान गरिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए । अभियुक्तमध्ये सिरहा घर भई विराटनगर–११ जनपथ टोल बस्ने ४० वर्षीया नीरु भनिने निर्मला यादव, मोरङको कटहरी–२ की ३३ वर्षीया सुधा भनिने शुक्री राजवंशी र ४७ वर्षीया दिलमनीदेवी राजवंशीलाई धरौटी रकम लिएर छाड्न अदालतले आदेश दिएको सुवेदीको भनाइ छ । उनका अनुसार शुक्रीसँग २ लाख, निर्मलासँग १ लाख र दिलमनीदेवीसँग १० हजार रूपैयाँ धरौटी माग गरिएको छ । तीनै जना धरौटीवापतको रकम बुझाएर छुटेको जानकारी सूचना अधिकारी सुवेदीले दिए । जिल्ला सरकारी वकिल कार्यालय मोरङले ६ जनालाई अभियुक्त बनाएर अपहरण तथा व्यक्ति बेपत्ता पार्ने कसूरमा सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो ।
अभियुक्तमध्ये डा. तपेश्वर र गोविन्दलाई भदौ १ गते तथा अरुलाई भदौ ५ गते पक्राउ गरेर प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थियो । प्रहरीले अभियुक्तविरुद्ध व्यक्ति बेपत्ता पारेको कसूर, मानव बेचबिखन र संगठित अपराधमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । तर, वकिल कार्यालयले मानव बेचबिखन र संगठित अपराधमा मुद्दा चलाएन । अपहरण र व्यक्ति बेपत्ता पारेको कसूरमा मात्रै मुद्दा चलायो ।
अनुसन्धानबाट खुलेको तथ्यविपरीत र अनुसन्धान नै नभएको शीर्षकमा मुद्दाको अभियोजन भएपछि वकिल कार्यालयको भूमिका शंकास्पद एवं विवादास्पद देखिएको छ । कानुनका जानकारहरु अभियुक्तलाई सजायबाट उन्मुक्ति मिल्ने गरी बदनियतपूर्ण तरिकाले अभियोजन गरिएको बताउँछन् । अभियुक्तलाई उन्मुक्ति मिल्ने गरी भएको मुद्दाको अभियोजनमा ठूलो आर्थिक चलखेल भएको आरोप लाग्दै आएको छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरेपनि वकिल कार्यालयले अस्पतालका सञ्चालक कृष्णकुमार खवासविरुद्ध भने मुद्दा नचल्ने निर्णय गरेको थियो ।
अदालतको आदेशबाट कारागार चलान भएका गोविन्द राईसँगको शारीरिक सम्पर्कबाट गर्भवती भएकी २६ वर्षीया अविवाहित युवतीले असार १४ गते शिशु (छोरी) जन्माएकी थिइन् । बिहे गर्ने प्रलोभन देखाएर गर्भवती बनाएपछि गोविन्दले युवतीलाई बच्चा जन्माउने भनेर विराटनगर ल्याएको अनुसन्धानबाट खुलेको छ । ३५ हजार रूपैयाँमा कुरा मिलेपछि डा. तपेश्वरले गर्भवती युवतीलाई ग्रीनक्रस अस्पताल लगेर प्रसूति गराएका थिए । ‘नर्मल डेलिभरी’मार्फत छोरी जन्माए पनि युवतीले लैजान पाइनन् । अस्पतालले बिदा दिएपछि युवतीलाई प्रेमी गोविन्दले सुनसरीको इटहरी लिएर गएका थिए ।
इटहरी लगेर होटलमा राखेपछि गोविन्दले छाडेर हिँडेको र जीवितै जन्माएको बच्चासमेत साथमा नभएको भनेर युवतीले साउन ३२ गते मोरङ प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । अनुसन्धानबाट डा. तपेश्वरले निःशन्तान दम्पतीलाई ५ लाख रूपैयाँ शिशु बिक्री गरेको पत्ता लागेको छ । गायव पारिएको ५४ दिनपछि प्रहरीले शिशुलाई मोरङको कटहरी–२ आदर्श टोलबाट गत भदौ ५ गते जीवितै उद्धार गरेको थियो ।
जन्मनासाथ अस्पतालबाटै गायव पारिएको शिशुलाई दिलमनीदेवीको घरमा फेला पारिएको हो । दिलमनीदेवीका छोरा सूर्यनारायणको बिहे भएको १० वर्षसम्म पनि सन्तान भएका थिएनन् । अविवाहित युवतीले बच्चा जन्माएको खबर पाउनसाथ अस्पताल आएका आमा दिलमनीदेवी र छोरा सूर्यनारायणले ५ लाखमा शिशु किनेर लगेको अनुसन्धानबाट यकिन भएको छ । शिशुकी आमालाई थाहै नदिइकन उनका प्रेमी अर्थात बच्चाका बाबु (गोविन्द) र चिकित्सक (डा. तपेश्वर)समेतको मिलेमतोमा बच्चा बिक्री गरिएको पत्ता लागेको हो । तपेश्वरले ग्रीनक्रस अस्पतालमा कार्यरत सरसफाइ कर्मचारी सुधा भनिने शुक्रीमार्फत दिलमनीदेवीको परिवारलाई बच्चा उपलब्ध गराएको खुलेको छ । शुक्री दिलमनीदेवीको आफन्त रहेको प्रहरीले जनाएको छ ।
प्रतिवादी बनाइएकीमध्ये निर्मला डा. तपेश्वरको दिपेश मेडिकलमा काम गर्ने अनमी हुन् । उनी अस्पतालकी कर्मचारी हैनन् । तर, निर्मलाले गर्भवती युवतीलाई प्रसूति गराउन सहयोग गरेको खुलेको छ । डा. तपेश्वर २०७० चैतदेखि २०७१ असोज १४ गतेसम्म कोसी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट (पूर्वमेसु) थिए । उनीमाथि त्यसअघि पनि बच्चा बिक्री गरेको आरोप लागेको छ । तर, प्रहरीले त्यसको प्रमाण भने फेला पार्न सकेन ।
(आदेशको पूर्ण पाठ)
Discussion about this post