कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न दिएको समय घर्कन लाग्दै गर्दा मुख्यमन्त्रीका सन्दर्भमा कुनै ठोस निर्णय हुन सकिरहेको छैन । उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने आधार नदेखेपछि सहमति र सहकार्य गर्ने भन्दै राजीनामा दिएपछि आगामी प्रदेशको समीकरण कस्तो होला भन्ने चासो पनि उत्तिकै छ ।
निर्वाचनको एक वर्ष नपुग्दै मुख्यमन्त्री बन्नका लागि सबै उपधाराहरू प्रयोग गरिसकेको अहिलेको अवस्थामा आगामी दिनमा यो प्रदेशको राजनीति स्थिर होला भन्ने आधार नभइरहेको अवस्था छ । सत्ताकै खिचातानीमा दलहरू व्यस्त हुँदा सङ्घीयता विरोधीहरूलाई थप मलजल पुगिरहेको अवस्था जगजाहेर रहेको छ । कोशी प्रदेश सभामा अहिलेको कांग्रेस, माओवादी सहितको गठबन्धनले शुक्रवारसम्म दिएको समयभित्र कसलाई मुख्यमन्त्री बनाउँला चासोको विषय छ ।
अर्कोतर्फ जो सांसदले पनि बहुमत जुटाएर मुख्यमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्थाअनुसार त्यसको प्रयोग कोशी प्रदेश सभामा हुने अवस्था पनि नकार्न सकिएको छैन । खासगरी नेपाली कांग्रेसमा मुख्यमन्त्रीका आकांक्षी धेरै भइरहँदा निर्णय कसरी हुन्छ ? यिनै विषयमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईसँग प्रदेश खबरले गरेको कुराकानीको सम्पादित अंश :
प्रदेश प्रमुखले दिएको समय घर्कँदै गएको अवस्थामा यहाँहरू मुख्यमन्त्री को भन्ने गन्जागोल कै अवस्थामा हुनुहुन्छ ? आकाङ्क्षीहरू पनि बढ्दै जाँदा अहिलेको अवस्था के छ ?
खासगरी तपाईँले भनेजस्तो कांग्रेसभित्र गन्जागोलको अवस्था केही पनि छैन । अर्कोतर्फ कांग्रेस पार्टी जस्तो ठुलो पुरानो पार्टीमा मुख्यमन्त्रीको लागि आकांक्षा गर्नु अश्वभाविक पनि हैन । हामी प्रदेश सभामा २९ जना सांसदहरू छौँ सबैले आफ्नो आफ्नो अपेक्षा लिनुमा अन्य अर्थमा लिनु पनि हुँदैन । त्यसो हुँदा हुँदै पनि पार्टीको नेतृत्वले टुङ्गोमा पुर्याइसकेपछि हामीले स्वीकार गरेर जान्छौँ ।
अहिले भनेको चैँ औपचारिक रूपमा आफ्नो दल र गठबन्धनका दल भित्र पनि छलफल भइरहेको अवस्था छ । बिहीबार(भोली) बेलुकासम्ममा प्रदेशको मुख्यमन्त्री को हुने र कुन दलको हुने भन्ने टुङ्गो लाग्ने छ ।
बाहिर चर्चामा आए जस्तो तपाई पनि मुख्यमन्त्रीको लागि तयारीमा हो ?
हाम्रो कांग्रेसको विधान र परम्परालाई हेर्ने हो भने दलको नेता नै मुख्यमन्त्री बन्ने भन्ने प्रचलन छ । संविधानको धारा १६८ को उपधारा ५ मा जसले बहुमत पुर्याउन सक्छ उही मुख्यमन्त्री बन्ने भन्ने छ । तर, पनि दलीय व्यवस्थामा सांसदभित्र कुनै ह्विप नलाग्दै गर्दा पनि पार्टीभित्र दलको अनुशासन हुन्छ । त्यसो भएको हुनाले पनि अहिले हामी त्यो चरणमा पुगेका छैनौँ ।
जहाँसम्म म मुख्यमन्त्रीको आकांक्षी भन्ने कुरा, दलको नेताले इच्छा व्यक्त गर्नुभएन भने शीर्षस्थ नेतृत्वले त्यसको विकल्प खोज्नुभयो भने त्यसबारेमा म मेरो बारे भन्न सक्छु । अहिलेको अवस्थामा चैँ छैन । अहिले भनेको गठबन्धन दलभित्रै बाट बन्ने र कांग्रेसको तर्फबाट दलको नेता नै हुनुहुने छ ।
अर्कोतर्फ कांग्रेसको संस्थापन इतर समूह एमालेसँगको सहकार्यमा भए पनि मुख्यमन्त्री बन्ने भन्ने कुरा बाहिर छ । यसो भयो भने यहाँहरूको गठबन्धन कसरी टिक्ला र ?
यो कुरा भनेको हल्लाको कुरा मात्रै हो । हल्लाको पछाडि लाग्नुको कुनै अर्थ पनि छैन । नेकपा एमालेसँग मिलेर सरकार बनाउँछु, समीकरण भत्काउँछु भन्ने कुराको सम्भावना छैन । यो जोखिम कांग्रेसमा कसैले पनि मोल्दैन । यो कुनै क्याम्पसको अध्यक्ष बनाउने कुरा पनि हैन प्रदेशको सरकार निर्माण गर्ने कुरा हो । त्यसकारण यो विषयमा जिम्मेवार ढङ्गले नेताहरूले गर्नुहुन्छ भन्ने मलाई लाग्दछ ।
तपाईँहरू आफ्नो प्रदेशको निर्णय आफैँ गर्न सक्नुहुन्न ? सङ्घीयता कार्यान्वयन भन्नुहुन्छ ? प्रदेशको निर्णय केन्द्र पठाउनुहुन्छ ?
हैन, यो कुरा भनेको आफ्नो क्षेत्राधिकारभित्र निर्णय गर्न सकेन भन्ने कुरा हैन । हामी हाम्रो प्रदेशका संर्दभमा निर्णय गर्न सक्छौँ । यो भनेको माथिल्लो निकायसँग छलफल गरेर निर्णय गर्न काठमाण्डौं आएका हौँ । हामी परामर्श गरेर निर्णय लिन्छौँ । सरकार बनाउन कै लागि केन्द्र गुहारेको भन्न मिल्दैन र हैन पनि ।
तपाईँहरू कोशी प्रदेशमा गठबन्धनकै सरकार बनाउँदै हुनुहुन्छ ? त्यसो हुँदा अहिले कै अवस्थामा त बहुमत पुग्ने स्थायी आधारहरू छैन ? पहिले पनि तपाईँहरूले विश्वासको मत लिन नसकेको अवस्था छ ।
गठबन्धनको बहुमत छैन भन्ने कुरा सत्य हैन । हामी ९३ जना सांसदमा ४७ जना सांसद भएकै अवस्था छ । जहाँसम्म यो भन्दा अगाडि नेकपा एमालेले असंसदीय र अमर्यादित खेल खेल्यो त्यो गल्ती बाट एमालेले पनि पाठ सिकिसकेको अवस्था रहेको छ । त्यस्तो जिम्मेवार पार्टीले अहिलेको अवस्थाको सृजना गर्यो त्यसमा नेकपा एमाले जिम्मेवार छ । अव पनि त्यो गल्ती एमालेले गर्छ जस्तो मलाई लाग्दैन ।
तपाईँले सर्वोच्चको निर्णयमा नै प्रश्न उठाउन खोज्नुभएको हो ?
सर्बोच्च अदालत ले त जे देख्यो त्यो निर्णय गर्यो। तर, हामीले खेलेको खेलका कारण त्यो अवस्था आयो नि त । उपसभामुखले संसद सञ्चालन गर्ने जुन जिम्मेवारी पाउनुभएको थियो त्यो जिम्मेवारी पुरा गर्नुभएको भए अथवा संसदमा रहेका ज्येष्ठ सदस्यहरूले संसद चलाइदिनु भएको थियो भने मात्रै पनि यो अवस्था त आउने थिएन । त्यस कारण यो खेल त एमालेले खेलेको हो नि । हामीले त मध्यावधिमा जान दिनुहुन्न भनेर सभामुखलाई राजीनामा गराइकन मुख्यमन्त्री बनेको अवस्था हो ।
अहिलेको अवस्थामा चैँ तपाईँहरू उपधारा ५ भन्दा पनि दलको नेता नै मुख्यमन्त्री बन्नुपर्छ भन्ने पक्षमा हो ? त्यसमाथि गठबन्धन भित्र पनि कसले मुख्यमन्त्री लिने भन्ने के छ ?
हैन हामी कुनै दलको चुनाव चिन्ह लिएर जितेको सांसद हैन र ? अनि जहाँसम्म कसले लिने भन्ने कुरामा चैँ शीर्ष नेतृत्वले टुङ्गो लाइहाल्नु हुन्छ नि ।
तपाईँहरू एमालेसँग चैँ सहकार्य गर्ने मनसायमा हुनुहुन्न ?
अहिलेको अवस्थामा चैँ नेकपा एमालेलाई सरकारको नेतृत्व दिएर सहकार्य गर्ने छलफल भएको छैन । अर्को कुरा त अहिले हामी गठबन्धन दललाई चिडियाएर नेतृत्वमा लोभिने वाला पनि छैनौँ । हाम्रो सहयात्रा भनेको गठबन्धन दलभित्रै हुन्छ ।
तपाईँहरूको यस्तो कुराले त मध्यावधिमा जाने देखियो त हैन ?
हैन, हामी मध्यावधिमा नजानका लागि सरकार निर्माण गछौं । नेकपा एमाले पुनः गैह्र जिम्मेवार बन्नु भएन नि । त्यसो हुँदा हामीले अहिलेको अवस्थामा किन मध्यावधिको चिन्ता गर्ने र ? अर्कोतर्फ हामीले राप्रपासँग छलफल पनि गरिरहेका छौँ ।
यो पनि
Discussion about this post