'इलाम–सिक्किम' पर्यटन प्रवर्द्धनमा सहकार्य

विहीबार, १८ बैशाख २०८२

इलाम : हरियाली चियाबारी, मौलिक संस्कृति र प्राकृतिक सुन्दरताको धनी इलाम अब अन्तर्राष्ट्रिय पर्यटन नक्शामा अझ स्पष्ट देखिन थाल्ने संकेत देखिएको छ। हालै सम्पन्न सिक्किम भ्रमणले इलामको पर्यटन प्रवर्द्धनमा नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।

इलाम नगरपालिकाको टोली, नगरप्रमुख केदार थापाको नेतृत्वमा, भारतको उत्तर–पूर्वी राज्य सिक्किमको नाम्ची, चारधाम र राजधानी गान्तोकको भ्रमणमा निस्किएको थियो। भ्रमणको उद्देश्य थियो, दुवै क्षेत्रका साझा सांस्कृतिक र प्राकृतिक विशेषतामार्फत सिमापार पर्यटन प्रवर्द्धनको सम्भावनाहरू पहिचान गर्नु।

भ्रमणको पहिलो दिन नाम्चीको प्रसिद्ध धार्मिक स्थल ‘श्री सिद्धेश्वर धाम’ मा नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यसँगको साक्षात्कार, प्रवचन श्रवण र सांस्कृतिक आदानप्रदानले भ्रमणको भावनात्मक र आध्यात्मिक सुरुवात गर्‍यो। गुरुले इलामका धार्मिक स्थलहरू माईपोखरी र गजुरमुखीबारे विशेष रूपले प्रकाश पारे, जसले सीमापार धार्मिक पर्यटनको सम्भावना बलियो बनायो।

दोस्रो दिन, गान्तोक नगरपालिकामा आयोजित औपचारिक छलफलमा सिक्किमका मेयर, उपमेयर, सांसद, पर्यटन व्यवसायी तथा अन्य सरोकारवालाहरूसँग इलाम–सिक्किमको पर्यटन सहकार्यका विविध आयाममा गम्भीर चर्चा भयो। सिक्किमले आजभन्दा सात दशकअघि शून्य पर्यटन अवस्थाबाट वार्षिक १४ लाख पर्यटक भित्र्याउने सफल यात्रा तय गरेको अनुभव साटासाट गर्‍यो। दुवै क्षेत्रका होमस्टे, जैविक कृषि, सांस्कृतिक विविधता र धार्मिक सम्पदाको मिलनले भविष्यको साझा पर्यटन मार्ग निर्माणको सम्भावना प्रस्ट पार्‍यो।

तेस्रो दिन, कालिङपोङ र दार्जिलिङका सफल होमस्टेहरू अवलोकन गर्दै ‘सिमापार पर्यटन प्रवर्द्धन समिति’ गठन, संयुक्त होमस्टे निर्देशिका र स्थानीय उत्पादन आदानप्रदानजस्ता दीर्घकालीन रणनीतिहरू तय गर्ने छलफल भयो। इलामको माइपोखरी विश्व सम्पदा सूचीमा सूचीकृत सिमसार क्षेत्र भएको र रेडपाण्डा क्षेत्रको रूपमा पहिचान पाएको विषयमा पनि विशेष चासो देखाइएको थियो।

यो भ्रमणले एउटा सकारात्मक संकेत दिएको छ, 'हामी नजिकैका छौं, भौगोलिक सीमाले होइन, सम्भावनाले जोडिएका छौं। पहाडबाट पहाड, संस्कृति बाट संस्कृतिमा यात्रा गर्ने साझा सपना अब योजना बन्न थालेको छ।'

सामाजिक, सांस्कृतिक र आर्थिक दृष्टिले भरिपूर्ण यो सहकार्यले इलाम र सिक्किम दुवैलाई दिगो पर्यटनको यात्रामा अगाडि बढाउने विश्वास लिइएको छ। अबको दिनमा इलामको चियाबारी मात्र होइन, उसको पहिचान र पाहुना सत्कारले पनि विश्वलाई बोलाउनेछ।

  • महेद्ररत्न क्याम्पस इलामका प्राध्यापक राजेन्द्र बरालको अनुभवका आधारमा  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार