सत्र सालपछिको इटहरीको राजनीतिक विकासयात्रा : गाउँ पञ्चायतदेखि उपमहानगरसम्म

शनिबार, ०१ कार्तिक २०८२

 इटहरीको इतिहास 

इतिहासमा टेकेर विकासक्रम अगाडि बढ्छ । हिजो भन्दा आज सवल र सक्षम हुनुपर्छ र आज भन्दा भोलि । इतिहास धरातल हो, धरातलमा नटेकी कुनैपनि कालखण्ड अगाडि बढेको छैन । इतिहास गुरु हो, इतिहास पथ प्रदर्शक हो र इतिहास प्रतिस्पर्धी पनि हो वर्तमानको ।

किनभने इतिहाससंग वर्तमान तुलना गर्न पाइएन भने विकास क्रमको गति थाहा पाउन सकिदैन । यसै अभिप्रायबाट इटहरीको राजनीतिक इतिहासलाई लिपिबद्ध गरेर यहाँको आगामी पुस्तालाई हस्तान्तरण गर्नपाए इटहरीको राजनीतिक इतिहासले आफ्नो मार्ग आँफै बनाउँदै जाने छ भन्ने ठानेर यो संक्षिप्त इतिहास  खोजि गरिएका हो । 

वस्तुतः यहाँको सामाजिक इतिहासपनि राजनीतिक इतिहास भन्दा कमजोर छैन । यसै कलम द्वारा इटहरीको संचारको इतिहास ( इटहरी नगर पालिकाको स्मारिका ) ब्यापार तथा इटहरी उद्योग वाणिज्यको इतिहास ( उ.बा.संघ इटहरीको स्मारिका ) इटहरीको पहिलो बिद्यालय सतन सरस्वती स्कूलको इतिहास ( शिक्षक मासिक र रेडक्रस सोसाइटी इटहरीको स्मारिका ) मा लेखिई सकेको छ ।

यसैगरी विभिन्न क्षेत्रका इतिहासलाई अलगअलग संकलन र लेखन गरेर पछि एकिकृत गर्न सकिने छ । एक ब्यक्तिबाट मात्र हैन फरकफरक ब्यक्तिबाट खोज र लेखन गरेर पनि एकिकृत गर्न सकिने हुँदा, यस तरिकाबाट इटहरीको समग्र इतिहास तयार हुनसक्छ भन्नेपनि ठानिएको छ । 

नरबहादुर अधिकारी दिवङ्गत भैसकेपछि इटहरीको इतिहास खोजिगर्न निक्कै असजिलो भयो । यसैगरी पुराना पातहरु झर्दै जाँदा अलिखित इतिहासपनि उहाँहरूसंगै जानेरहेछ । तसर्थ कुनै कालखण्डसम्म डो¥याएर राखिदिने हो भने त्यहाँबाट अगाडि बढाउन निश्चयनै सहज हुन्छ । यो इतिहास तयार हुनुमा बयोबृद्ध रामप्रसाद श्रेष्ठ, पूर्ब मन्त्री रामकुमार सुब्बा, समाजसेवीहरू केशव सिटौला, विश्वप्रसाद रिजाल, रमेश बिष्ट, स्व.मधु रिमाल, चन्दन चौधरी र रघुकुमार चौधरीको ठूलो सहयोग रहेको छ ।

pradeskhabar.com - 2025-10-18T080657.806

विषय प्रवेश:-

अढाईसय बर्ष पहिले स्थापित राजशाही प्रणालीको मध्यतिर राणाशाहीले प्रवेश पायो र १०४ वर्ष राज गरो । यो प्रामाणिक इतिहासको यहाँ चर्चा गर्न खोजिएको हैन । २००७ साल फाल्गुण ७ गते राणाशाही विरुद्धको जनक्रान्ति टुंगियो । सफल हुनु र टुंगिनुमा अन्तर रहेछ । भारत, राजा, कांग्रेस र राणा बीच दिल्लीमा सम्झौता भयो र क्रान्ति टुंगियो ।

सबैभन्दा बढी रङ फेर्ने भनेकै राजनीतिले हो । यसै कारण सात वर्ष पछि २०१५ मा मात्र आम निर्वाचन हुन सक्यो र कांग्रेसले दुईतिहाई मत पायो । नेपाली कांग्रेसको त्यो प्रचण्ड बहुमतको सरकारलाई राजा महेन्द्रले २०१७ साल पौष १ गते अपदस्त गरे । ०७ सालमा दिल्लीमा त्रिपक्षीय सम्झौता हुनुलाई जनक्रान्ति सफल भयो भनिएको थियो, तर क्रान्ति पूरा भएको थिएन ।

सम्झौता हुनु क्रान्ति सफल हुनु होईन रहेछ भन्ने कुरा त्यतिखेर प्रकट हुन पुग्यो । तथापि राजा महेन्द्रले स्थापित गरेका विकासका पूर्वाधार र राष्ट्रवादी चिन्तन देशकालागि दूरगामी कदम थिए भन्ने पुष्टि भैसकेका कुरा हुन । त्यही २०१७ सालको राजनीतिक परिवर्तन पछाडि इटहरीको राजनीतिक चित्र कसरी कोरिदै अगाडि बढ्यो ? भन्ने जिज्ञासा निवारण गर्न यो इतिहासको खोजी गरिएको छ ।

इटहरी गाउँ पन्चायत (सोनालाल गच्छदारदेखि रामकुमार सुब्बासम्म):-

राजा महेन्द्रको ०१७ पौष १ को घोषणाबाट, विश्वेश्वरप्रसाद कोईराला नेतृत्वको उन्नाइस महिने सरकार अपदस्त भएपछि पञ्चायतकालको प्रारम्भ भयो । भौगोलिकरूपमा पञ्चायत इकाईको सिमाना तोकी प्रधानपंचहरुको मनोनयन गरियो । निर्वाचन भनेपनि त्यसबेला प्रधानपञ्च हुन कोही तयार  हुँदैन थिए । त्यसैकारण गाउँको सोझो, भद्र र समाजसेवी चरित्र भएको मान्छे समातेर प्रधानपञ्च बनाउनु पथ्र्यो ।

यसै प्रकारले इटहरीका पहिलो प्रधानपञ्चबने गैसार ( गाईसार ) का सोनालाल गच्छदार ( चौधरी ) । त्यसबेला जिल्ला विभाजन भैनसकेको हुँदा इटहरीपनि मोरङ अन्तर्गत नै पर्दथ्यो । गछिया खोला पश्चिमको महेश्वर झोडा, तीनपैनी, खोक्सी, भिमचौरी पनि इटहरीको वार्ड नं. १ अन्तर्गत रहेका थिए ।

दोस्रो कार्यकालका प्रधानपञ्ंच भए रामप्रसाद श्रेष्ठ । त्यसपल्टपनि सहमतिकै आधारमा प्रधानपञ्चको छनौट भएको थियो । विपी कोइरालासंग प्रतिस्पर्धी भै आम चुनाव लडेका दिलबहादुर श्रेष्ठको पञ्चायती उचाई बढिसकेको थियो र प्रधानपञ्च बनाउने हैसियतपनि बढाउँदै लगि सकेका थिए, दिलबहादुर (सानो बाबु) होमबहादुर (ठूलो बाबु) ले । रामप्रसाद श्रेष्ठलाई प्रधानपञ्च बनाउन पनि उनिहरुको प्रयत्न देखिन्छ त्यसबेला ।

सोनालालको कार्यकालमा प्रधानपञ्चको काम कर्तब्य अधिकार के हो भन्ने नै प्रष्ट थिएन । त्यसै कारण एउटा सामाजिक अगुवाको रूपमा काम गरे उनले । यो इतिहास खोजिको क्रममा भौतिकरूपमा उपस्थित रहेका रामप्रसाद श्रेष्ठलाई सोधियो, तपाईंले आफ्नो कार्यकालमा केके गर्नु भयो ? उहाँले जवाफ दिनु भयो  राष्ट्रिय मावि आँपगाछी स्थापना गराएँ, वार्ड नं. २ को हवाई टोल हुँदै टेङ्ग्रा निस्किने बाटो खोलें । टेङ्ग्राखोलामा पूल बनाएर उद्घाटन गरें । त्यस उद्घाटनमा महेश्वर सुब्बा, चतुरलाल चौधरी, गोबिन्द मानन्धर समेतको उपस्थिति थियो । फोटो पनि थियो अहिले कता परो ।

धरानका चन्द्रशेखर श्रेष्ठले दर्ता गर्न खोजेको आठ कठ्ठा सरकारी जग्गा रोकें,ं दर्ता गर्न दिइन । अहिले त्यो साढे आठ कठ्ठा जग्गामा सङ्गित साधनाको भवन बनेको छ । बौका झोडामा दुई ग्रुप बीच लाठी खुकुरीको मारामार भयो, त्यसबेलाका अञ्चलाधीश समेतको सल्लाह लिएर महेश्वर सुब्बा र बमबहादुर लिम्बूलाई राखी मेलमलाप गराएँ । बजेट थिएन धेरै त के नै पो गर्न सकिन्थ्यो र !

उहाँले सम्झिएजति कुरा बताउनु भयो । तपाईंको घर त हाँसपोसा पट्टि छ इटहरीको प्रधानपञ्च कसरी हुनुभयो ? यो प्रश्नको जवाफ दिंदै उहाँले भन्नु भयो “ यो बाटो भन्दा ( कोशी राजमार्ग देखाउँदै ) पूर्बपट्टि पनि मेरो जग्गा थियो । जग्गा भएपछि कानुनले त्यो ठाउँको बासिन्दा मान्दोरहेछ । अनि म प्रधानपञ्च भएँ ।”

सोनालाल बाहेक यहाँ जति प्रधानपञ्च भए सबै कम्युनिष्ट पृष्ठभूमिका थिए । तपाईं नि ? यो प्रश्नको जवाफमा रामप्रसाद श्रेष्ठले भन्नुभयो “ किसान सङ्घको नामबाट यहाँ कम्युनिष्टका गतिविधि सन्चालन हुन्थे, म पनि केही समय कम्युनिष्ट भै हिंडे, पछि छोडें ।”

दुई अवधिसम्म सहमतीमा चुनिदै आएको प्रधानपञ्च पदमा तेस्रो कार्यकालकालागि भने चुनावनै भयो । चुनाव रामप्रसाद श्रेष्ठ र लक्ष्मण चौधरी बीच भएको थियो । त्यसवेलाको चुनावमा मतदान अधिकृतले  सहीछाप गरेको सादा कागज बाक्सामा खसाउनु पथ्र्यो । उम्मेदवारको चुनाव चिन्ह बाक्साको रङले छुट्याउँथ्यो ।

मतदानपछि रामप्रसादको बाक्सा खोलेर मत गणना भयो । खसेको मतको आधारमा रामप्रसादले चुनाव जितेको देखियो । यता लक्ष्मण पक्षले भन्यो त्यो मात्र गनेर कहाँहुन्छ योपनि गणना गर्नु पर्छ । लक्ष्मणको बाक्सापनि गनियो । त्यसमा त रामप्रसादको भन्दापनि बढी मत थियो । खसेको मतभन्दा बढी मत खसेको देखियो तरपनि निर्वाचन टोलीले बढी मत पाएका लक्ष्मण चौधरी निर्वाचित भएको घोषणा गरिदियो । रामप्रसादले अदालतमा मुद्दा हाले । एकवर्षपछि चुनाव रद्द हुने फैसला दियो अदालतले । 

एकवर्षको अवधिमा लक्ष्मण चौधरीले धेरै काम गरेको देखिन्छ । बौकाको बाटो, गैसारको बाटो, हाटखोलाको बाटो  उनैले खोलेका हुन । काठको पञ्चायत घर जो २०५० सालसम्म थियो त्यो उनैले बनाएका हुन ।  लक्ष्मण चौधरीका बारेमा थाहा पाउने इटहरीका मान्छे उनको निक्कै प्रशंसा गर्छन । के थियो त लक्ष्मण चौधरीको खुवी ? यो पाटो थाहा पाउनुपनि आबस्यक छ । 

रमेश बिष्टको भनाई अनुसार “ एउटा सचेत मान्छे थिए लक्ष्मण चौधरी, उनी जुझारु थिए, राम्रो वक्ता थिए र किसानका हितका कुरा गर्दथे । झापामा राजा महेन्द्र आएको बेलामा भूमिसुधार कार्यक्रमलाई सामन्ती खेल हो भनेर बिरोध गरे भन्ने सुनियो । इटहरीका सबै बाटा, स्कूल उनैले बनाएका हुन ।

चौधरी कम्युनिष्ट पार्टी प्रति वफादार थिए, तर शाही कदम पछि पार्टी हरायो, उनी कम्युष्ट पार्टीको अर्को रूप कोशी कमिटीमा जान सकेनन, तरपनि आफ्नो पालामा जति काम गरे कम्युनिष्ट सैलीमा काम गरे । यस प्रसङ्गमा इटहरीका तीन अवधिका प्रधानपञ्च तथा पूर्ब मन्त्री रामकुमार सुब्बाको पनि भनाई छ, “ इटहरीको विकासमा केही गरौं भन्ने भावना भएका मान्छे हुन लक्ष्मण चौधरी ।”

अदालतले चुनाव रद्द गरिदिएपछि बाँकी कार्यकालकालागि चुनाव गराउन खोजियो तर निक्कै ठूलो द्वन्द र झगडाका कारण चुनाव हुन सकेन र जेष्ठ सदस्यलाई प्रधापञ्च बनाउने सहमती भए अनुसार चतुरलाल चौधरी प्रधानपञ्च भए । दुर्भाग्यवस एकवर्ष पछि चतुरलालको पनि निधन भयो । फेरि अर्को जेष्ठ सदस्य झडीलाल चौधरीलाई प्रधानपञ्च बनाईयो र त्यो कार्यकाल पूराभयो ।

लक्ष्मण चौधरीको पालामा उपप्रधानपञ्च रहेका प्रेमबहादुर कार्की इटहरी गाउँ पञ्चायतको निवाचित चौथो कार्यकालका प्रधानपञ्च बने तर चतुरलाल र झडिलाल समेत जोड्दा उनी छैटौं प्रधानपञ्च हुन । प्रेमबहादुर कार्कीको पालामा टङ्क रिजाल उपप्रधानपञ्च थिए । लक्ष्मण चौधरीले थालनी गरेका बाटाघाटा स्कूलहरूकै अधुरा कामलाई अगाडि बढाएका थिए प्रेमबहादुर कार्कीले आफ्नो कार्यकालमा ।  

सोनालाल देखि प्रेमबहादुर कार्कीसम्मको अबधिलाई इटहरी गाउँ पञ्चायतको एक कालखण्ड मान्नुपर्ने हुन्छ । विकास निर्माणमा बजेट हुँदैन थियो । कर्मचारीका लागि बजेट थिएन । सुरुमा सोझो, सिधा, भलाद्मी र सम्पन्न हेरेर प्रधानपञ्च बनाइन्थ्यो । त्यसो गर्नुको उद्देश्य, परिआएको खण्डमा प्रधानपञ्च स्वयम्लाई खर्च गराउनु थियो ।

विकासनिर्माण, दानदातब्य, सरकारी दौडाहा, भ्रमण आदि सबै प्रधानपञ्चको थाप्लोमा हुन्थ्यो । त्यस कालखण्डमा देशभरिका धेरै खातापिता ब्यक्तिहरू प्रधानपञ्च भएपछि कङ्गाल हुन पुगेका थिए । सतनलाल गच्छदारको नाति सोनालालसंग मनग्गे जग्गाजमिन थियो, तथापि प्रधानपञ्चकालमा ठूलै आर्थिक क्षति भयो । लक्ष्मण चौधरीको घर अहिलेको हटिया लाइनमा थियो । प्रधानपञ्च भएपछि उनको सम्पत्ति सकियो । यहासम्म कि जीवनको उत्तराखण्डमा उनलाई खानलाउनकै अभाव थियो ।

प्रेमबहादुर कार्की प्रधानपञ्च हुँदा पनि कम्युनिष्ट पार्टीमा सक्रिय थिए । प्रान्तीय कमिटीको सदस्य र इटहरीको पार्टी इञ्चार्ज थिए कार्की । प्रेमबहादुर कार्की आर्थिक रूपमा सबल थिए । अहिलेको बसपार्क पश्चिम तर्फ र बज्राहामा उनको ५÷७ विगाह जग्गा थियो तर प्रधानपञ्च भए पछि उनको पनि धेरै सम्पत्ति सकियो । नागरिकताको मुद्दा लागेर केही समय जेल पनि परे प्रेमबहादुर कार्की । पञ्चायतमा कुनै बजेट हुँदैन थियो ।

जे जस्ता विकास निर्माणका काम हुन्थे जनसहभागिता बाटै हुन्थे । गाउँ फर्क राष्ट्रिय अभियानको कार्यक्रम राजा महेन्द्रले लागु गरेको अत्यन्तै दूरदृष्टिवाला कार्यक्रम थियो । त्यो कार्यक्रम अन्तर्गत आफ्नो ठाउँका लागि आँफै योगदान गर्ने बाटोघाटो, कुलो पैनी निर्माण गर्ने र आफ्नो ठाउँको विकास आफै गर्ने अवधारणबाट ल्याइएको थियो गाउँ फर्क राष्ट्रिय अभियान ।

राजा महेन्द्रको देहवसान पछि गाउँफर्क राष्ट्रिय अभियानको उद्देश्य विपरित चुनावमा हस्तक्षेप गर्ने पञ्चायत इतरका मान्छेहरूको जासुसी गर्ने र प्रतिशोध लिने गर्दागर्दै राज्य संचालनमा गाउँ फर्कको सक्रियता प्रवेश भएपछि गाउँफर्क राष्ट्रिय अभियान मात्र हैन पञ्चायत प्रणाली नै गन्हाउन थाल्यो । राजा महेन्द्रले जुन गन्तब्यको लागि पञ्चायती दर्शनको प्रादुर्भाव गरेका थिए, त्यो न दरवारले बुझो न पञ्चहरूले बुझे ।

गाउँ फर्कले पञ्चहरूलाई नै दुई खेमामा विभाजित ग¥यो र पञ्चायती व्यवस्थाको अन्त्य गरायो । ऐतिहासिक जनमत संग्रहको करिब एक वर्ष पहिले अर्थात २०३५ सालबाट रामकुमार सुब्बाको कार्यकाल देखिन्छ । तीन कार्यकाल प्रधान पञ्च बनेका सुब्बाको पहिलो निर्वाचन गा.स.स. (गाउँ पञ्चायत सभासद) ले चुन्ने सैलीको थियो ।

पहिले सबै सभासदको चुनाव हुन्थ्यो र आफु मध्येबाट प्रधान पञ्च र उपप्रधानपञ्चको निर्वाचन गरिन्थ्यो । यसै निर्वाचन प्रणालीद्वारा ०३५ सालमा रामकुमार सुब्बा प्रधानपञ्च र रमेश चौधरी उपप्रधानपञ्च निर्वाचित भएका हुन् । त्यस कार्यकालमा देशमा विद्यार्थी आन्दोलन चर्कियो र राजा वीरेन्द्रद्वारा जनमत संग्रहको घोषणा भयो ।

जनमत संग्रह पछि वालिग मताधिकारको आधारमा मतदाताले प्रधान पञ्च र उपप्रधानपञ्च प्रत्यक्ष चुन्ने परिपाटी भयो । रामकुमार सुब्बाको लोकप्रियताका अगाडि प्रतिस्पर्धीको सारै झिनो मत थियो । आफ्नो दोस्रो कार्यकाल (समग्रमा छ्रैटौं कार्यकाल) का लागि रामकुमार सुब्बा निर्वाचित भए । रमेश चौधरी र टेकनारायण चौधरी बीच उपप्रधापञ्चमा टक्कर भयो र टेकनारायण चौधरीले विजय हासिल गरे ।

रामकुमार सुब्बाको तेस्रो कार्यकाल सुरू भएको लगत्तै नेपाली काँग्रेसले आन्दोलनको घोषणा ग¥यो र अन्ततः त्यो आन्दोलनले तीस वर्षीय पञ्चायती व्यवस्थाको अन्त्य गरिदियो । पञ्चायतको अन्त्य भए पनि नयाँ सम्विधान जारी भएर इटहरी गाउँ विकास समितिको निर्वाचन नहुँदा सम्म रामकुमार सुब्बाकै कार्यकाल रह्यो । तर पनि सुब्बा पूरा कार्यकाल पदमा बस्न पाएनन् । त्यस अवधिको पनि उपप्रधान पञ्च टेकनारायण चौधरी नै थिए ।

लक्ष्मण चौधरी पछि रामकुमार सुब्बाको कार्यकालमा केही देखिने कामहरू भएका छन् इटहरीमा । लक्ष्मण चौधरीमा हिम्मत थियो, बोल्ने क्षमता थियो, केही गरौं भन्ने भावना थियो र सम्भव भए सम्म गरे पनि ।

रामकुमार सुब्बामा दूरदर्शिता थियो, हिम्मत थियो, केही गरौं भन्ने भावना थियो र प्राविधिक दिमाग थियो । सुब्बाको कार्यकालमा केही युवाहरू दुरुपयोग भएका र केही युवाहरूलाई सही मार्गमा लान नसकेको दोष छ सुब्बा माथि, तथापि उनले इटहरीलाई दिएका सकारात्मक कामको वजन गहु्रँगो छ ।

हाल इटहरी नगरपालिका रहेको ढुंगाको भवन रामकुमार सुब्बाको पालामा बनेको हो । उनलाई र उनको कामलाई मननपराउनेहरूले यो अनावश्यक काम हो, यसमा भैँसी गोठ राखे हुन्छ समेत भनेका थिए । इँट  कारखानाबाट हुने वनविनास, प्रदुषण र पत्थर कोइलाका लागि विदेशिने मुद्रा रोक्न मैले ढुङगाको प्रयोग बढाउन ढुङगाको पञ्चायत घर बनाएको हुँ भन्ने सुब्बाको भनाई थियो ।

ढुङगाका घर बनाउने सीप सबैको हुँदैन स्थानीय मान्छेलाई तालिम दिने र आफ्नै खोलानालाका ढुङ्गा टिपेर घर बनाउनु पर्छ भन्ने उद्देश्य ले ५०÷६० जना मिस्त्री उत्पादन गरेको भनाई थियो उनको । यसका लागि कोही ब्यक्तिलाई आर्थिक बोझ नलगाएका उनलाई ऐलानी जग्गा बेचेर पञ्चायत घर बनाए भन्ने आरोप भने लाग्यो ।

पोखरी भित्रबाट पनि एउटा घरको जग बसाएका थिए सुब्बाले त्यो भवन पानी भित्रमात्र पक्की हुने र बाँकी काठको निर्माण हुने बताएका थिए उनले । त्यसमा पशुपति नाथको मन्दिर,गोरखनाथ र स्वयम्भूको सुन्दर आकार बनाउने योजना थियो उनको त्यस घरमा तर त्यो पूरागर्ने समय उनलाई पुगेन । त्यसमा अहिले नगरपालिका कार्यकारी अधिकृतको अफिस छ ।

२०४० साल तिर रामकुमार सुब्बाको नेतृत्वमा राजा वीरेन्द्रको प्रतिमा स्थापना भयो इटहरीको मुख्य चोकमा त्यसपछि त्यो चोकलाई वीरेन्द्रचोक भनियो । वडामहारानी ऐश्वर्यले त्यो प्रतिमाको अनावरण गरेकी थिइन । अमर चित्रकारले बनाएको त्यो प्रतिमाको मूल्य ५ लाख परेको थियो । त्यसमा पनि मैले जनतासँग एक पैसा दान चन्दा उठाइन भन्छन् रामकुमार सुब्बा । ६२/६३ को आन्दोलनले राजा वीरेन्द्रको त्यो मूर्ति तोडफोड गरेपछि गायक, व्यावसायी तथा सामाजिक ब्यक्ति बाबुराम प्रधानले उक्त भग्न प्रतिमा षडानन्द चोक स्थित आफ्नो घर माथि संरक्षण गरेर राखे ।

सुब्बाको कार्यकालमा भएको अर्को महत्वपूर्ण काम हो, जनाता क्याम्पसको स्थापना । रामकुमार सुब्बा लगायत, हरि शर्मा रिजाल, जीवनाथ घिमिरे विश्वप्रसाद रिजाल, केदार ओझा, चन्द्रशेखर कोइराला आदि मान्छेहरू महिनौ खटेर क्याम्पसका लागि जग्गा र नगद जम्मा गरेका थिए । रामचन्द्र अधिकारीले त्यसवेलाको सर्वाधिक रकम रु. २५ हज्जार प्रदान गरेका थिए ।

रामकुमार सुब्बाको तेस्रो कार्यकाल नसकिदै देशमा वहुदलीय व्यवस्था पुनस्थापना भयो । २०४७ सालमा नयाँ सविधान जारी भयो र २०४८ सालमा स्थानीय तहको निर्वाचन हुँदा एकिृत माक्र्सवादी लेनिवादी कम्युनिष्टका तर्फ प्रमोद श्रेष्ठ अध्यक्ष र मलेछी चौधरी उपाध्यक्षमा निर्वाचित भए, इटहरी गाउँ विकास समितिको । प्रमोद श्रेष्ठ माक्र्सवादी पृष्ठभूमिबाट आएका थिए भने मलेछी चौधरी माले पृष्ठभूमिका थिए । आइतबारे हाट लाग्ने गरेको गाउँविकासको स्वामित्वमा रहेको आइतबारेको जग्गा विक्री र नयाँ खरिद प्रकरणमा उनीहरुको कार्यकाल केही विवादित बन्यो । 

प्रमोद श्रेष्ठ र मलेछी चौधरीको कार्यकाल सकिदा नसकिदा गाउँ विकासबाट इटहरी नगरपालिका भैसकेको थियो । इटहरी नगरपालिकाको निर्वाचनमा ने.क.पा. एमाालेका सर्वध्वज सावाँ र रेवती भण्डारी मेयर र उपमेयरमा निर्वाचित भए । सावाँ कोशी पीडित क्षेत्रतिरबाट इटहरी आएका थिए भने भण्डारी कानुन व्यवसायी पृष्ठभूमि तिरका थिए ।

ने.क.पा.को राम्रो संगठन रहेको इटहरीमा एकिकृत मालेबाट जो उठाए पनि जित्ने अवस्था थियो त्यस बेला । नगरपालिका परिसर भित्रको पोखेरी सुधार बसपार्क निर्माण र इटहरी चोक पूर्वपश्चिम अशोकका विरुवा हुर्काइ हरियाली इटहरी बनाउने काम भएको थियो सावाँ भण्डारी कार्यकालमा । हरियाली वेल्टमा विज्ञापन प्लेटहरुपनि राखियो ।

ठूलो बजेट थिएन नगरपालिकाको, त्यसैले वार्ड तिरका वाटा ग्राभेलको काममात्र भए । नगरपालिकाले जनतालाई सेवा दिने काम भन्दा नगरपालिका परिसरभित्र पार्टीगत गतिविधि बढी भएको भन्दै नेपाली काँग्रेस निकट र राप्रपा निकट युवाहरूद्वारा मेयर सावाँ बस्ने कुर्सी जलाई दिएको घट्ना पनि घट्यो त्यो कार्यकालमा । 

२०५२ सालबाट सुरु भएको माओवादी द्वन्द आन्तरिक र बाह्य मलजलका कारण छिटो छिटो चर्किदै गयो । राजनैतिक अस्थितरता बढ्दै गयो र सर्वध्वज सावाँको कार्यकाल पछि देशभरिको जे गति भयो इटहरी नगरपालिकाको पनि त्यही गति भयो । नयाँ निर्वाचन हुन सकेन । २०५८ जेष्ठ १९ गते दरबार हत्याकाण्ड भयो ।

माओवादी द्वन्द प्रति सहानुभूति राख्ने तर संसदीय पद्दती प्रति अनुदार मानिएका ज्ञानेन्द्र शाह त्यही महिनाको २२ गते राजा भए । राजा क्रमशः अनुदार बाटोमा गए । राजाको सैलीमा २०१७ सालपछिको संकेत देखिन थाल्यो । ०१८ सालमा प्रधानपञ्च स्थापित गरे जस्तो नगरपालिका र गाउँ विकासमा नेतृत्व नियुक्ति गरियो ।

इटहरी नगरपालिकाको मेयरमा गीतानिधि रायामाझी र उपप्रमुखमा नुर महमद मियाँ नियुक्ति भए । दुर्भाग्यवस घर छ्ेउमै गीतानिधि रायामाझीको गोलीहानी माओवादीले हत्या ग¥यो । त्यसको केही समयपछि देशभरीका स्थानीय निकायको निर्वाचन गर्ने भयो शाही सरकारले । प्रमुख राजनैतिक दलहरूले त्यसको विरोध मात्रै गरेनन् । वहिस्कार समेत गरे । तथापि चुनाव गराइयो । त्यस चुनावबाट धनबहादुर विष्ट प्रमुख र नुर महमद उपप्रमुख भए इटहरी नगरपालिकाको ।

२०५८ जेष्ठ २२ गते राजा भएका ज्ञानेन्द्र शाहले २०६१ माघ १७ गते प्रत्यक्ष शासन हातमा लिएका थिए र २०६५ जेष्ठ १५ सम्म उनी राजा भएका थिए । त्यसपछि दुई दुई अवधिको संविधानसभा कालसम्म कहिले सर्वदलीय समिति द्वारा त कहिले बिशुद्ध कर्मचारीद्वारा इटहरी नगरपालिका संचालत भयो ।

संविधानसभामा द्वारा नयाँ संविधान जारी भै देश संघीय गणतान्त्रिक पद्दतीमा गए पछि इटहरी नगरपालिका उपमहानगर पालिकामा पदोन्नती भयो । नयाँ संविधानले स्थानीय तहलाई व्यापक अधिकार प्रत्यायोजन गरी भएको निर्वाचनमा नेपाली काँग्रेसका प्रतिस्पर्धी रोहित प्रसाई र विमला ढकाललाई पराजित गर्दै नेकपा.एमालेका द्वारिकलाल चौधरी मेयर र लक्ष्मी गौतम उपमेयरमा विजयी भए इटहरी उप महानगरपालिकाको ।

यस अवधि सम्म साविक इटहरी बाहेक, हाँसपोसा, पकली, एकम्बा र खनार गाउँपालिका समेत समावेश गरी एउटा वृहत इटहरी निर्माण भैसकेको थियो । जसमा जम्मा २० वटा वडा बनाइयो । इटहरी उप महानगरपालिकाको पहिलो निर्वाचनमा १२ वटा वाडामा नेपाली काँग्रेस एक वाडामा मधेशवादी दल र बाँकी नेकपा एमालेले विजय प्राप्त गरेको थियो । यस प्रकार द्वारिकलाल चौधरी इटहरीलाई नेतृत्व दिने चौधौँ व्यक्ति हुन् । 

दलीय संगठन

कम्युष्टि पार्टीको संगठन (प्रमोद श्रेष्ठदेखि धनबहादुर विष्टसम्म) :-

 २०१७ सालको घटना पछि राजनैतिक पार्टीमा प्रतिबन्ध लाग्यो । नेताहरू जेल परे । स्थानीय संगठनहरु पनि तहस नहस भए । नेपाली काँग्रेसले ०१५ सालको आम निर्वाचनमा दुईतिहाई सिट जितेको थियो भने नेपाल कम्युनिष्ट पार्टीले जम्मा ४ सीट जितेको थियो । दलीय संगठनको हकमा भने इटहरीको राजनीति फरक ढंगले विकसित भएको देखिन्छ ०१७ सालपछि ।

इटहरीमा वामपन्थी संगठनका प्रारम्भिक प्रेरणा मनमोहन अधिकारी र भरतमोहन अभिकारी नै हुन भन्ने देखिन्छ । पार्टी प्रतिबन्धित थियो, त्यसै कारण खेती र पेशाको निहुबाट जनसम्पर्कमा पुग्थे अधिकारी दाजुभाइ । भरतमोहन पेशाले अधिवक्ता थिए सुनसरी जिल्ला अदालत आउजाउ गर्ने नाका थियो इटहरी ।

इटहरीमा सबैभन्दा पहिले कम्युनिष्ट भनेर चिनिएका दुःखी चौधरी कुलदीप पेस्कार मलेछी चौधरी लक्ष्मण चौधरी, प्रेम बहादुर कार्की थिए । त्यसपछि प्रमोद श्रेष्ठ, रमेश विष्ट, बसन्त सुवेदी, मधु रिमाल र शेरबहादुर भुजेल देखिए । दुःखी, मलेछी, लक्ष्मण, महेश चौधरी र कुलदीपहरु किसान संघको नाउबाट तिविधि गर्थे ।

किसान सङ्घको गतिविधि ०१५ सालको आम निर्वाचन पूर्व पनि देखिएको थियो । ठाउँ ठाउँमा गोदाम लुट्ने र अन्नवाँड्ने काम पनि भएको थियो किसान सङ्घको नामबाट । त्यही किसान संघ नै कम्युनिष्टहरूको गतिविधि गर्ने आधार, थियो इटहरीमा पनि ०१७ सालको प्रतिबन्ध पछि । 

केन्द्रको सक्रियता थोरै भयो भनेर ०१५ साल पहिलेनै मनमोहन अधिकारीले पूर्व कोशी प्रान्तीय कमिटी गठन गरे विराटनगरमा । त्यस कमिटी अन्तगर्त संगठन विस्तार गर्न मोहनचन्द्र अधिकारीलाई झापा पठाइयो तर नक्सलपन्थी नेता चारुमजुम्दारको उग्रवाद मनपराएर मोहनचन्द्र, सिपी र आर.के. मैनाली सँग उतै प्रवेश गरे ।

बलराम पोख्रेल जनता स्कूलको हेडमास्टर भएर इटहरी आए तर उनको थाप्लोमा हेडमास्टरको जिम्मेवारी भन्दा बढी पार्टीको जिम्मेवारी थियो । त्यसबेला इटहरीमा रमेश बिष्ट, वसन्त सुवेदी, मधु रिमाल, शेरबहादुर भुजेलहरूले गठन गरेको एउटा समूह कार्यरत थियो । त्यसको नाम जे लेखिएको भएता पनि त्यसले कम्युनिष्ट गतिविधि र संगठन गथ्र्यो । पुराना पुस्ताका नेताहरुले किसान सङ्घ चलाई रहेकै थिए ।

बलराम पोख्रेल आए पछि उनले इटहरीमा इलाका कमिटी गठन गरे र सचिव भए । इलाकाको क्षेत्र पकली, एकम्बा, हाँसपोसा सम्म रहेको थियो । यो इलाका कमिटी चाहिँ पूर्व कोशी प्रान्तीय कमिटी अन्तर्गत प्रान्तीय कमिटिीको संगठन रणनीति अन्तर्गत बनेको देखिन्छ । विराटनगर र धरानमा पुष्पलालको संगठन थियो ।

कालाबञ्जार र बक्यौरीतिर धरान अन्तर्गत थियो र  धरान मार्फत नै संगठन बिस्तार भयो । इटहरीमा मनमोहन अधिकार र भरत मोहनको पूर्वकोशी प्रान्तीय कमिटी मार्फत संगठन भएको हो । पुष्पलाल र मनमोहनको संगठन बीच सौहाद्र्रता र आत्मिकनिकटता पाइन्छ तर अलग अलग पार्टी जस्ता थिए । पछि त्यही दुई समूह नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीमा रुपान्तरण भएको हो ।

पूर्वकोशी प्रान्तीय कमिटीको गठन नै इटहरीमा  भए पनि संगठनको गन्तब्य अनिश्चित भएको पाइन्छ । प्रेमबहादुर कार्की प्रधानपञ्च भएकै अवधिमा पनि पार्टीको महत्वपूर्ण पदमा थिए तर लक्ष्मण चौधरी पूर्वकोशी कमिटिमा आवद्ध भएनन् । मलेछी चौधरी “नौलो जनवादी क्रान्तिको नाराबोकेको झापाली समूहसँग आवद्ध  हुन पुगे ।

नक्सलाइट नेता चारुमजुरम्दारबाट प्रभावित झापाली कम्युनिष्ट आन्दोलननै नेकपा माले भयो । ओम कोइराला नेकपा मालेको मान्छे भएर उदाए इटहरीमा । नेपाली काँग्रेसले ०४६ सालमा घोषणा गरेको पञ्चायत विरुद्धको जनआन्दोलनको वेला गणेशमान सिंहको सतप्रयासमा नेकपा माक्र्सवादी र नेकपामालेको कार्यगत एकता भयो र संयुक्त जनआन्दोलनले सफलता प्राप्त ग¥यो । त्यसपछि ती दुई कम्युनिष्ट घटकको एकिकरण भएपछि” नेकपा एमाले अर्थात नेकपा एकिकृत माक्र्सवादी लेनीनवादी भएको हो ।

 नेपाली काँग्रेसः– 

 ०१५ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाई सिट जित्यो, कम्युनिष्ट पार्टीले जम्मा चार सिट मात्र । यस क्षेत्रको निर्वाचनको केन्द्र इटहरी नै थियो । विराटनगर धरान अर्थात त्यसबेलाको मोरङ भरीका मतदाताले इटहरीमै आएर मतदान गरेका थिए ।

धुले बाटोमा ट्रक चढेर धूलो उडाउँदै विराटनगरबाट इटहरी आएको, तर उमेर पुगेको छैन भनेकाले भनसुन गरेर भोट खसाएको अनि मतदाताका लागि तयार रहेको खाना खाएर विराटनगर फिरेको स्मरण गर्नु हुन्छ लेखक बलराम पोख्रेल । तथापि इटहरीमा नेपाली काँग्रेसको संगठन अत्यन्तै कमजोर देखिन्छ ।

०१७ सालको राजा महेन्द्रको कदम पछाडि पार्टीहरु प्रतिवन्धित भए । इटहरीमा जे जति काँग्रेससँग आवद्ध मान्छे थिए ती सबै मौन रहे । कुनै नेतृत्व वर्गले ती मौन रहेका मान्छेलाई जागृत गरी संगठन गरेको देखिदैन । तथापि खोलाटोली गैसारका गच्छदार परिवार भित्र नेपाली काँग्रेस र प्रजातान्त्रिक आन्दोलन प्रतिको चेत थियो भन्ने कुरा श्रीखण्ड चौधरी समेतका चौधरीहरूको काँग्रेस प्रतिको स्वतस्फुर्त निकटताबाट प्रष्ट हुन्छ ।

२०३०/३१ साल तिर मोहनलाल सिटौलाले केही मारवाडी व्यापारी सँग मिलेर धान र पटुवा खरिद विक्रीको काँटा राखे इटहरीमा, अनि आफ्नो तर्फबाट केशव सिटौलालाई प्रतिनिधि राखे । ०३२ सालमा केशव सिटौलाले कोशी पसल नामको किराना पसल सुरु गरे । त्यसै समय देखि मेदिनी प्र. सिटौला पनि इटहरी बस्न थाले । त्यस वर्ष जेलबाट छुटेका कृष्णप्रसाद भट्टराई र लिला कोइराला विजयबस चढेर जनकपुर तिरबाट विराटनगर जाने क्रममा एकछिन इटहरीमा उत्रिए ।

उनीहरूलाई केशव सिटौला मेदिनीप्रसाद सिटौलाले काँक्रा र फलफुल खुवाएर पठाएँ । इटहरीका मान्छेले त्यसबेला थाहा पाए । इटहरीमा पनि काँग्रेस रहेछन् भन्ने कुरा । त्यसपछि केशव सिटौला माथि कम्युनिष्टहरुको दृष्टि जनन थाल्यो, पञ्च र प्रशासनको निगरानी पनि हुन थालेको पाइन्छ ।

केशव सिटौला जस्तै चिनिएर बाहिर निस्किएका विद्यार्थी थिए ध्रुवराज घिमिरे । घिमिरे ने.वि.सं सँग आवद्ध थिए र उनले महेन्द्र कलेज धरानमा युनियनको चुनावमा पनि अध्यक्ष पदका लागि चुनाव लडे । अम्मरबहादुर कार्की (नेशनल होटल) पुराना काँग्रेस थिए । भारतको ऋषिकेशमा केही वर्ष व्यापार गरेर आएका, यहाँ पनि व्यापार नै गर्थे ।

तत्कालिन वार्ड नं. ८ मा बसोबास गर्ने केदार काफ्ले र देवीप्रसाद काफ्ले पुराना र त्यागी मान्छे थिए नेपाली काँग्रेसका । वार्ड नं. ५ का पदमबहादुर बस्नेत, अर्जुन ब. बस्नेत तरहराका दिनेशचन्द्र गिरी, भवनाथ शर्मा, दानबहादुर गुरुङ, गैसारका श्री खण्ड चौधरी, बजारमा नरनाथ नेपाल एकआपसमा क्रमशः खुल्दै गएका थिए ।

यी सबैको मिलन विन्दु बने केशव सिटौला । ०३५ सालमा वि.पी. कोइराला विराटनगर आउँदा (पञ्चहरुले हवाइ जहाज अवतरण हुन दिएनन् रनवेमा सुतेर ) स्वागतको लागि गएका  तत्कालिन शान्ति झोडा निवासी पूर्ण ब्लोनसँग केशव सिटौलाको भेट भएपछि थाहा भयो कि पूर्ण ब्लोन एउटा निडर र लडाकु मान्छे रहेछन्, नेपाली काँग्रेसको ।

गोपाल गिरी  पुष्प गुरुङ पनि त्यही क्षेत्रमा बसोबास गर्थे । २०३६ साल जेष्ठ १० गते राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे पछि खोलाटोली गैसारका चौधरी परिवारले नेपाली काँग्रे्सको संगठन बिस्तारमा सर्वाधिक सहयोग गरेको देखिन्छ । अझ भन्ने हो भने इटहरीमा नेपाली काँग्रेसको संगठनको प्रारम्भ नै त्यहीबाट भएको थियो । समाजसेवी सतनलाल गच्छदारले जग्गा दान गरेर राणाकाल मै सरस्वती स्कूल स्थापना गरेका थिए गैसारमा । उनकै कारण ०१५ सालमा वि.पी. कोइराला सो स्कूलको निरीक्षणमा आएको बुझिन्छ ।

  •  जनमत संग्रह:-

“य अल्लाह मै वैगुनाह हुँ” संयुक्त पाकिस्तान (हाल वंगाल देश र पाकिस्तान) का प्रधानपन्त्री जुल्फीकर अली भुट्टोको वाक्य हो यो । सैनिक सरकारले उनलाई फाँसी दिनु पूर्व भुट्टोद्वारा बोलीएको यो वाक्यले नेपाली राजनीति पनि तरङ्गीत भयो । पाकिस्तानी दुतावासमा फाँसीको विरोधमा विज्ञप्ती दिन गएका विद्यार्थी माथि पंचायती प्रशासनले लाठी चार्ज ग¥यो र त्यसकै निहुँबाट देशमा विद्यार्थी आन्दोलन चर्कियो ।

२०३६ जेष्ठ १० गतेका दिन राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे । सुधारिएको पञ्चायत व्यवस्था (पहेलो रंग) र बहुदलीय शासन व्यवस्था (नीलो रङ) बीच जनमत हुने भयो । त्यो जनमत संग्रहको प्रभाव इटहरीमा पनि पर्ने नै भयो ।

रामकुमार सुब्बा यसक्षेत्रका प्रधानपञ्चहरू मध्येका बलिया प्रधानपञ्च थिए इटहरीमा । उनिसँग अघोषित रूपमा लडाकु समूह पनि छ भनिन्थ्यो । बहुदलवादीका लागि रामकुमार सुब्बा ठूलो अवरोध थिए भने सानो स्वरमा भए पनि बहुदलको पक्षमा बोल्ने बहुदलवादीहरु सुब्बाको आँखाका कसिंगर थिए । बहुदलवादी भनेर अग्रपङतीमा चिनिएका केशव सिटौलाको कोशी पसलमा आएर धम्क्याउने काम त हुन्थ्यो नै, पसलतर्फ फिरेर लघुशङ्का गर्दै तिम्रो बहुदल बगाएको भन्ने काम पनि गरिन्थ्यो ।

जे जे भए पनि आफ्नो आफ्नो पक्षमा जनता आकर्षित गर्ने काम हुँदैथियो । यसै बीचमा मोरङको गछियामा केदार भट्टराई नामका मान्छेको हत्या भयो । राजनीतिमा केदारको सक्रियता देखिएको थिएन तर उनका भाइ उदय मजदूर क्षेत्रबाट कम्युनिष्ट राजनीतिमा कृयाशील थिए । उक्त हत्याको आरोप रामकुमार सुब्बा माथि लगाइयो, महेश्वर झोडा तीरका उनका कार्यकर्ताद्वारा हत्या गराइयो भन्ने आरोप लगाइयो ।

बिराटनगर अस्पतालबाट शव यात्रा सुरु भयो । रामकुमार सुब्बाका पिता महेश्वर सुब्बाले बनाएको काठैकाठको चारतले घर थियो इटहरी चोकमा । त्यो घरमा आगो लगाउने उद्घोषण ग¥यो शावयात्रा जुलुसले र सेना तैनाथ गरेर घरको सुरक्षा गरियो । जगदीश नेपालीको अगुवाईमा त्यो शवयात्रा धरान पु¥याइयो र शहर घुमाइयो ।

घरका वार्दली र छतबाट पुष्प वृष्टि गराइयो । मूलत यो शव यात्रा रामकुमार सुब्बाको विरुद्ध थिएन यो त पञ्चायतको विरुद्ध र मतदाताको मन फिराउने एउटा अवसर पनि थियो । त्यो वृहत शवयात्रा । धरान बजार परिक्रमा पछि ८÷१० वटा बस मा मान्छे भरेर गछियाखोलामा लगि दाहसँस्कार भयो । राती १०÷११ बजे धरात तर्फ बस फिर्दा इटहरी चोकबाट केही युवाहरूले ढुङगा हाने । यो लेखक पनि तिनै बसमध्ये एउटा बसमा थियो ।

जनमत संग्रह बारे नेकपा माक्र्सवादी भित्र अन्योलता थिएन तर नौलो जनवादी क्रान्ति  पक्षधर झापाली क्रान्तिकारीहरूको “नेकपा माले” भने अन्योलमा थियो । त्यो पार्टीको राजनीतिक विश्लेषणमा बहुदलले जितेमा सत्तामा आउने काँग्रेस नै हो भन्ने थियो र सायद उ काँग्रेस भन्दा राजतन्त्र निकट थियो अथवा आफ्नो क्रान्ति सफल गर्न काँग्रेस सत्ता भन्दा राजसत्ता सुगम ठानेर हो रातारात निर्णय बदलिएर “जनमत संग्रह धोका हो” भन्यो ।

इटहरीमा “माले” को संगठन नगन्य थियो । माक्र्सवादीहरुले वहुदलको नीलो रंङलाई भोट दिए । नेपाली काँग्रेस र नेकपा माक्र्सवादीको प्रयासमा वार्ड नं. ७, ६, २, ३ बाट नीलो पक्षमा उल्लेखनीय मत आयो तर देशमा ४ लाख मतले पञ्चायतको पहेलो रङ विजयी भयो । मालेले बहुदलमा मत दिएको भए नीलो रङको विजय हुने थियो भने बहुदलवादीहरूले निश्कर्ष निकाले ।

२०४२ मा नेपाली काग्रेसले सत्याग्रहको घोषणा ग¥यो तर काठमाण्डौमा भएको अप्रत्यासित वमकाण्डका कारण सत्याग्रह स्थगित भयो । काँग्रेसले पुन ०४५ सालमा जनआन्दोलनको घोषण ग¥यो । माक्र्सवादी कम्युनिष्ट पार्टीको नेता मनमोहन अधिकारी आन्दोलनको पक्षमा सकारात्मक थिए । काँग्रेस र माक्र्सवादीको मात्र शक्तिले पञ्चायत ढाल्न सक्ने सम्भावना कम थियो ।

मालेको मनोविज्ञान जनमत सग्रहमा नै अभिव्यक्त भै सकेको थियो । त्यसैकारण गणेशमान सिंहले दुवै वामघटकहरूलाई मिलाएर आन्दोलनमा लाने प्रयास गरे । अन्ततः संयुक्त वाममोर्चा बन्यो र पञ्चायत विरुद्धको आन्दोलन सफल भयो । आन्दोलनको समयमा इटहरीमा को काँग्रेस को कम्युनिष्ट चिनिएनन्,।

सबैले काँग्रेसको झण्डा बोके  सबैले हँसिया हथौडा भएको झण्डा बोके । घरमा दुवै पार्टीको झण्डा सजाएँ । आखिर इटहरीका  मान्छे पनि यहीको पानी खाएका त थिए नि । आन्दोलनको सफलता पछि जब निर्वाचन नजिकिन थाल्यो । अनि पानी वार्न थालियो, साथी भाइ त्याग्न थालियो, जन्ती र मलामीमा परहेज गर्न थालियो र दलीय सहिष्णुताको धज्जी उडाइयो ।

पञ्चायतमा आन्तरिक द्वन्द

राजा महेन्द्रले प्रतिपादन गरेको पञ्चायती दर्शन नराम्रो थिएन । राष्ट्रियता थियो, विकास थियो र नागरिक समानताको सुन्दर सपना थियो । कम्युनिष्टहरूले भन्ने गरेको वर्ग संघर्षको ठाउँमा वर्गसमन्वय थियो ।

गाउँ फर्क राष्ट्रिय अभियान गाउँको विकास र उन्नती तर्फ उनमुख थियो, तर राजा महेन्द्र पछाडिको दरबारले पञ्चायती दर्शनको अपव्याख्या ग¥यो । पञ्चहरु क्रमशः दुई खेमामा विभाजित हुँदै गए । त्यस्को असर पनि इटहरीले राम्रैसँग खेप्नुपरो ।

सुनसरीको प्रभावशाली नेता थिए दिलबहादुर श्रेष्ठ र होमबहादुर श्रेष्ठ, उनीहरुको पहुँच दरबारसम्म थियो । सूर्यबहादुर थापाले द्वैध शासनको कुरा उठाएका थिए । त्यो कुरा दरबार तिरै लक्षित थियो । राजा वीरेन्द्र उदार भावनाका राजा थिए भने, रानी ऐश्वर्य भाइ ज्ञानेन्द्र र मुमा रानी अनुदार कित्ताका मानिन्थे । दिलबहादुर र होमबहादुरले अनुदार कित्ताको प्रतिनिधित्व गर्थे ।

सुनसरी जिल्लाको राजनीति आफ्नो छत्रछायाँमा चल्नु पर्छ भन्ने उनीहरुको चाहना हुन्थ्यो तर तीन पटक सम्म इटहरीको प्रधानपञ्च बनेका रामकुमार सुब्बाले उनीहरुको छत्रछायाँ स्वीकार गरेनन् । जसका कारण इटहरीलेजिल्ला स्तरबाट र केन्द्रीय स्तरबाट पाउनु पर्ने विकास बजेटबाट बञ्चित हुन पुग्यो । 

                                                     २०७७।०२।२१

प्रतिक्रिया

कृष्ण अधिकारी
लेखकको बारेमा
कृष्ण अधिकारी

सम्बन्धित समाचार